२०८३ भदौ २९ , सोमबार 14, September 2026, Monday

सन्तानेश्वर महादेव मन्दिरमा दर्शनार्थीको चाप

बाँकेको नरैनापुर गाउँपालिका–५ मा पर्ने चुरे पहाडको चुचुरोमा अवस्थित सन्तानेश्वर महादेव मन्दिरमा साउन महिनामा मात्रै २५ हजारभन्दा बढी श्रद्धालु दर्शनका लागि पुगेका छन् । केही वर्षअघिसम्म सुनसान रहने गरेको मन्दिरबारे पछिल्लो समयमा व्यापक प्रचारप्रसार गरिएपछि धार्मिक पर्यटकको चाप अत्यधिक बढ्दै गएको नरैनापुर गाउँपालिकाले जनाएको छ ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले महादेव मन्दिर र त्यहाँको मनोरम दृश्य अवलोकन गर्न वार्षिक करिब ३० देखि ४० हजार नेपाली र भारतीय आउन थालेको जनाउँदै यस वर्ष साउन महिनामा २५ हजारभन्दा बढी पर्यटक पुगेको बताए ।

मन्दिरका महन्त योगानन्द गिरीले सन्तान नभएकाले त्यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने धार्मिक विश्वास रहेकाले सन्तानेश्वर मन्दिरमा बाँके, बर्दिया, सुर्खेत, दाङ र सीमापारि भारतका बहराइच, गोन्डा, बलरामपुर, श्रावस्ती र लखिमपुर लगायतका विभिन्न स्थानबाट पर्यटक दर्शनका लागि आउने गरेको बताए ।

उनका अनुसार पर्यटक पहाडको उकालो चढिरहँदा जति थकित देखिन्छन्, सन्तानेश्वर मन्दिर दर्शन गरेर फर्किंदा उनीहरू त्योभन्दा बढी हर्षित र खुसी देखिने गरेका छन् । पहाडको टाकुरामा रहेको सन्तानेश्वर मन्दिरको रमणीय वातावरण अवलोकन गर्दा भारतीय पर्यटक निकै उत्साहित हुने गरेको अध्यक्ष शाहले बताए ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिबार