गर्मी र बर्सातसँगै लुम्बिनी प्रदेशका नदी, खोला, पोखरी, ताल तथा नहरमा डुबेर ज्यान गुमाउने घटना बढ्न थालेका छन् । प्रहरीका अनुसार पानीमा डुबेर मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या बढी रहेको छ ।
लुम्बिनी प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका सशस्त्र प्रहरी हवलदार हुमनाथ पाण्डेका अनुसार पानीमा डुबेर हुने मृत्यु रोक्न जोखिमयुक्त जलाशयमा बालबालिकाको पहुँच नियन्त्रण र अभिभावकीय निगरानी आवश्यक छ ।
उनका अनुसार विशेष गरी तराई क्षेत्रमा पौडी खेल्ने क्रममा बालबालिका डुब्ने घटना दोहोरिरहेका छन् । पानीमा डुबेर हुने घटनाको सङ्ख्या बढ्दै गएपछि स्थानीय तह, विद्यालय र अभिभावकले बालबालिकालाई जोखिमयुक्त खोला, पोखरी तथा नहरमा पौडी खेल्न नदिन सचेतना बढाउनुपर्ने देखिएको छ ।
२०८३ वैशाखदेखि साउन १० गतेसम्म प्रदेशमा ५५३ वटा विपत्का घटनामा ९० जनाको मृत्यु भएकामा ६० जनाको पानीमा डुबेर ज्यान गएको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ । डुबेर मृत्यु भएकामध्ये २३ जना बालबालिका छन् । चार जना अझै बेपत्ता छन् ।
प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा पानीमा डुबेर मृत्यु भएका घटनाको सङ्ख्या ७३ रहेको छ । तराईका जिल्लामा गर्मी छल्न पौडी खेल्ने क्रममा बालबालिका डुब्ने घटना बढी देखिएको केन्द्रले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रुपन्देहीमा पछिल्लो तीन महिनामा एक महिला र दुई बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ । असार २६ गते तिलोत्तमा नगरपालिका–७ मा माछापालनका लागि बनाइएको पोखरीमा डुबेर १५ वर्षीय प्रज्ञा गौतमको मृत्यु भएको थियो ।
यसअघि जेठ ३ गते बुटवल उपमहानगरपालिका–१ का १८ वर्षीय उमाकान्त चौधरीको तिनाउखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थम्मन जिसीका अनुसार गर्मी बढेसँगै बालबालिका समूह बनाएर खोला, नहर र पोखरीमा पौडी खेल्न जाने गरेका छन् ।
उनले पानीको गहिराइ र जोखिमबारे जानकारी नहुँदा दुर्घटना हुने गरेको बताए । उनले भने, ‘११–१२ वर्षभन्दा माथिका बालबालिका साथी साथी मिलेर पौडी खेल्न जाने गरेका र गहिरो ठाउँमा पुग्दा दुर्घटना हुने गरेको छ । अभिभावकको निगरानी कम हुने र विपन्न तथा मजदुर परिवारका बालबालिका यस्ता घटनामा बढी पर्ने गरेको देखिन्छ ।’
गत आर्थिक वर्षमा रुपन्देहीमा मात्रै पानीमा डुबेर नौ पुरुष र आठ बालबालिकाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ । मृतक बालबालिकामध्ये सात बालक र एक बालिका थिए । लुम्बिनी प्रदेशमा गत आवभरि एक हजार ८३७ वटा विपत्का घटना भएका थिए ।
ती घटनामा २९७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये पानीमा डुबेका २१२ घटनामा १९० जनाको मृत्यु भएको प्रदेशको आन्तरिक मामिला मन्त्रालय अन्तर्गतको विपत् व्यवस्थापन शाखाले जनाएको छ । १४ जना अझै बेपत्ता छन् ।
सत्यपाटी