२०८३ भदौ २९ , सोमबार 14, September 2026, Monday

दुई क्यान्सर अस्पतालबीच विशेषज्ञ उपचार सेवा विस्तार गर्न सम्झौता

पश्चिम नेपालमा क्यान्सर उपचार सेवाको पहुँच विस्तार तथा विशेषज्ञ सेवा थप प्रभावकारी बनाउने उद्देश्यले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा बाँके र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनबिच सहकार्य सम्बन्धी सम्झौता भएको छ ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराका कार्यकारी निर्देश डा.नीरज भट्टराईले दुबै अस्पतालविच विशेषज्ञ मेडिकल अंकोलोजी सेवा तथा संस्थागत सहकार्यसम्बन्धी सम्झौता भएको बताए ।

उनले सो सम्झौतामा आफुले र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नि.कार्यकारी निर्देशक डा.उमेश नेपालले आ–आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गरेको जानकारी गराउँदै यसबाट पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय र सहज क्यान्सर उपचार सेवा उपलब्ध गराउन सकिने बताए ।

दुबै अस्पतालबिच भएको सम्झौता अनुसार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रत्येक महिना दुई दिन योग्य तथा सम्बन्धित क्षेत्रमा दक्ष मेडिकल अंकोलोजिस्ट उपलब्ध गराउनेछ । यसबाट पश्चिम नेपालका क्यान्सर बिरामीले विशेषज्ञ चिकित्सकीय सेवा आफ्नै क्षेत्रमा प्राप्त गर्ने अवसर पाउने छन् ।

विशेषज्ञ चिकित्सकले ओपीडी परामर्श, उपचार योजना निर्माण, किमोथेरापीको सुपरिवेक्षण, वार्ड राउन्ड, जटिल बिरामीको समीक्षा तथा आवश्यक विशेषज्ञ राय प्रदान गर्नेछन् भने आवश्यकता अनुसार हेमाटो–अंकोलोजी लगायत सम्बन्धित विशेषज्ञ सेवा सञ्चालन तथा समन्वयसमेत गरिने सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.नीरज भट्टराईले बताए ।

उनका अनुसार सम्झौतामा बिरामीको हित, सुरक्षा, मर्यादा र गोपनीयतालाई सर्वोच्च प्राथमिकता दिइएको छ । उपचार सम्बन्धी निर्णय चिकित्सकीय व्यावसायिक मापदण्ड, उपलब्ध प्रमाण, अस्पतालको स्वीकृत प्रोटोकल तथा बिरामीको सूचित सहमतिअनुसार गरिने उल्लेख छ ।

जटिल वा थप विशिष्ट उपचार आवश्यक पर्ने बिरामीलाई चिकित्सकीय आवश्यकता र बिरामीको हितअनुसार उपयुक्त विशेषज्ञ केन्द्रमा रेफर गर्न सकिने व्यवस्था पनि सम्झौतामा गरिएको छ । सम्झौताको प्रमाणीकरणमा दुवै पक्षका विशेषज्ञ तथा प्रशासनिक अधिकारीहरू साक्षी बसेका छन् ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका तर्फबाट डा.सुवास मेहता, विभागीय प्रमुख, पेडियाट्रिक अंकोलोजी तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तर्फबाट डा. गुरुशरण साह, विभागीय प्रमुख, मेडिकल अंकोलोजी साक्षी बसेका छन् । साउन २९ गतेदेखि लागु भएको सो सम्झौता एक वर्षसम्म कायम रहनेछ ।

दुवै पक्षको लिखित सहमतिमा सम्झौता नवीकरण गर्न सकिने व्यवस्था पनि गरिएको छ । दुई विशिष्टीकृत क्यान्सर अस्पतालबीच भएको यो सहकार्यले पश्चिम नेपालका सयौं क्यान्सर बिरामीलाई विशेषज्ञ सेवा प्राप्त गर्न सहज हुनेछ ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिबार