नेपालगन्ज उपमहानगरपालिकाले गरिब, असहाय र विपन्न नागरिकका लागि नगरभित्र सञ्चालित २५ अस्पतालमा कुल ९४ वटा निःशुल्क शैय्या (बेड)को व्यवस्था गरेको छ । ‘लक्षित वर्ग निःशुल्क उपचार (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ अनुसार नगर क्षेत्रका अस्पतालहरूमा यो सुविधा सुनिश्चित गरिएको हो ।
उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले ९४ शैय्यामा निःशुल्क उपचार उपलब्ध गराइने जानकारी दिँदै कार्यविधि पूर्णरूपमा पालना गर्न अस्पतालहरूलाई निर्देशन दिइसकिएको बताए । उनले यो सेवा कागजी प्रक्रियामा मात्र सीमित नभई व्यवहारमै हरेक अस्पतालले १० प्रतिशत निःशुल्क शैय्याको व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालले भेरी अस्पतालमा निःशुल्क उपचार सेवा लिने बिरामीको घुइँचो लाग्ने गरे पनि निजी अस्पतालहरूमा उपलब्ध यस्तो सेवाबारे धेरै नागरिक अनभिज्ञ रहेको बताए । जनस्वास्थ्य प्रवर्द्र्धन शाखा नेपालगन्जका प्रमुख जागेश्वर बस्नेतका अनुसार अस्पतालहरूमा निःशुल्क शैय्याको स्थिति दैनिक रूपमा अद्यावधिक गरिनेछ ।
साथै सेवाग्राहीलाई सहज जानकारी दिन ‘निःशुल्क स्वास्थ्य सेवा सहकार्य कक्ष’ स्थापना गरी फोकल पर्सन्मार्फत सेवा प्रवाह व्यवस्थित गर्न अनुगमन सुरु गरिएको उनले जानकारी दिए । साथै सर्वसाधारणले थप जानकारीका लागि टोल–फ्री नम्बर ९७०२६९७७७२ मा सम्पर्क गर्न सक्ने पनि उनले जानकारी दिएका छन् ।
उपचार सेवा पाउन कठिनाइ भएमा वा गुनासो रहेमा सम्बन्धित अस्पतालका फोकल पर्सन तथा नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तेज वलीलाई सिधै सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ । कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि अस्पताल स्तरमा निःशुल्क उपचार व्यवस्थापन समिति गठन गर्ने, फोकल पर्सन तोक्ने र मुख्य प्रवेशद्वार नजिकै सहकार्य कक्ष स्थापना गर्ने निर्देशन दिइसकिएको छ ।
नेपालको संविधानको धारा ३५(१) ले स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । यस्तै, ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७’ को धारा ७० (घ) अनुसार प्रत्येक अस्पतालले कुल शय्याको १० प्रतिशत गरिब, असहाय र विपन्न बिरामीका लागि निःशुल्क आरक्षित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
सत्यपाटी