२०८३ साउन ३० , शनिबार 15, August 2026, Saturday

बाँकेमा साइबर अपराध, ‘बढ्दै मुद्दा, घट्दै उजुरी’

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ साउन ३० गते शनिबार

बाँकेमा अहिलेसम्म साइबर अपराध सम्बन्धी मुद्दा बढ्दै र उजुरी घट्दै गएको देखिएको छ । जिल्लामा पनि साइबर अपराध सम्बन्धी उजुरी लिने र मुद्दा दर्ता गर्ने व्यवस्था गरेसँगै साइबर उपराध सम्बन्धी उजुरी घट्दै र साइबर उपराध सम्बन्धी मुद्दा बढदै जान थालेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

आर्थिक वर्षको २०८१–०८२ मा ३०९ साइबर अपराध सम्बन्धी उजुरी परेकामा अहिले ती उजुरी घटेर १३१ पुगेको छ । परेका उजुरीमध्ये मेलमिलाप भएको पनि प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले अहिलेसम्म साइबर उपराध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भएका कारण पनि उजुरी कम हुँदै गएको जानकारी दिए ।

परेका उजुरीमध्ये सबैभन्दा बढी नेपालगन्ज र कोहलपुरका थिए । विदेशबाट पनि साइबर कानुन उल्लङ्घन गरेको पाइएको छ । विद्युतीय अपराधसँग सम्बन्धीत बाँकेमा परेका पाँच मुद्दामध्ये दुई घटनाको मुद्दा आर्थिक वर्ष २०८१–०८२ को र तीन मुद्दा आर्थिक वर्ष २०८२–०८३ को रहेको प्रहरीले जनाएको छ । सो मुद्दामा दुई जना पक्राउ परेर धरौटीमा रिहा भएका छन् भने तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

यी मुद्दा एउटा इलाका प्रहरी कार्यालय, कोहलपुरमा र चार मुद्दा जिल्ला प्रहरी कार्यालय, बाँकेमा दर्ता भएको थियो । प्रहरीका अनुसार आव २०७९–०८० मा १०६, आव २०७८–०७९ मा ५८ उजुरी साइबर अपराध सम्बन्धी परेका थिए । प्रहरीका अनुसार साइबर कानुन उल्लङ्घन फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट हुने गरेको छ । साइबर अपराधमा सङ्लग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही हुने गरेको छ ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिबार