२०८३ साउन २२ , शुक्रबार 7, August 2026, Friday

बाँकेमा वार्षिक १० लाख क्युफिट काठ र १८ सय चट्टा दाउरा उत्पादन

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ साउन २२ गते शुक्रबार

डिभिजन वन कार्यालय बाँकेले जिल्लामा लागु गरिएको दिगो वन व्यवस्थापनले गर्दा जिल्लामा वार्षिक १० लाख क्युफिट काठ र एक हजार ८०० चट्टा दाउरा उत्पादन हुने जनाएको छ ।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुप्ताका अनुसार वन सम्वर्द्धन प्रणाली अन्तर्गत जिल्लामा लागु गरिएको दिगो वन व्यवस्थापनले गर्दा जिल्लामा काठ र दाउरा उत्पादन बृद्धि भइ वार्षिक १० लाख क्युफिट काठ र एक हजार ८०० चट्टा दाउरा उत्पादन हुने बताए ।

कार्यालयका प्रमुख गुप्ताले यसबाट जिल्लाको काठ र दाउराको माग तथा समस्या समाधान हुनुका साथै करिब १० हजार सर्वसाधारणले १२ महिनानै पूर्ण समयको रोजगारी पाउने पनि बताए ।

डिभिजन वन कार्यालय बाँकेका योजना शाखा प्रमुख एवं सहायक वन अधिकृत सुशील सुवेदीले राप्तीसोनारी गाउँपालिकाको माथेवास–शम्शेरगन्ज क्षेत्रमा एकमात्र चक्ला वन रहेकोेमा चालु आर्थिक वर्ष २०८२–०८३ मा थप दुई चक्ला वन निर्माण गरिएको जानकारी दिए ।

यस वर्ष राप्तीसोनारी वडा नं.३ र ४ मा भुवर भवानी र वडा नं.१ मा खर्चेताल चक्ला वन निर्माण गरिएसँगै बाँकेमा चक्ला वनको संख्या तीन पुगेको उनले बताए । बाँकेमा सरकारी संरक्षित क्षेत्रबाहेक २४७ वन क्षेत्र रहेका छन् ।

तीमध्ये ११९ सामुदायिक, चार धार्मिक र १२४ निजी वन छन् । कूल एक लाख १९ हजार ९३९ हेक्टर वन क्षेत्रमध्ये ५२ प्रतिशत बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्दछ भने बाँकी ४८ प्रतिशत डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा पर्छ ।

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रबार