अंग्रेजले भारतमा शासन चलाएको बेला लखनउ विद्रोह दबाउन राणासँग सहयोग मागेका थिए । त्यस क्रममा आफैं लखनउ पुगेका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले त्यहाँजस्तै गन्ज (शहर) नेपालमा पनि बनाउने सपना देखे । विद्रोह असफल पार्न सहयोग मिलेपछि अंग्रेजले आफूले युद्धमा जितेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दिए ।
त्यसपछि बाँकेको समथर फाँट छानेर राणा शासकले नेपालगन्ज बनाउने आदेश दिएका थिए । त्यतिबेला आधुनिक सवारी साधन थिएनन् । राणा र राजपरिवारबीच बग्गी प्रचलनमा रहेको नेपालगन्जका जानकारहरुको भनाइ छ । दुई पाङ्ग्रा भएको साधनलाई एउटा जनावरले तान्ने गरी बनाइएको स्वरुप नै बग्गी भएको नेपालगन्जका साहित्यकार समेत रहेका सनत रेग्मी बताउँछन् ।
उनका अनुसार शुरुमा त्यसलाई एक्का भनिन्थ्यो, पछि समय परिर्वतनसँगै त्यसैलाई टाँगा भन्न थालियो । आधुनिक प्रविधि र सवारीसाधन प्रवेश गर्नुपूर्व नेपालगन्जमा टाँगा नै सर्वसाधारणका लागि अत्यावश्यक सवारीका रुपमा स्थापित भएको थियो । ‘त्यसैले त, नेपालगन्ज टाँगैटाँगाको शहर भनेर चिनिन थालेको हो,’ उनले भने । त्यसबेला टाँगा चढ्न नेपालगन्ज पुग्ने पर्यटक धेरै भेटिन्थे ।
करीव २०० वर्ष पुरानो नेपालगन्ज शहरको मौलिकताका रुपमा रहेको टाँगामा बसेर यात्रा गर्नुको मज्जै बेग्लै हुन्थ्यो । कुनै बेला शहरको मुख्य सवारीसाधन टाँगा थियो । नेपालगन्जदेखि कोहलपुर–चिसापानीसम्म टाँगा चल्थे । खजुरा बजारमा रहेको विमानस्थल पुग्ने एक मात्र साधन टाँगा थियो । नेपालगन्ज घुम्न आउने जो कोहीका लागि टाँगाको यात्रा रोमाञ्चक रहन्थ्यो । धेरैले घोडा चढ्ने रहर टाँगा चढेर पूरा गर्थे ।
सुर्खेत रोड हुँदै नेपालगन्ज–रुपैडिया मार्गमा टाँगा चल्दासम्म व्यवसायीलाई राम्रै आम्दानी हुन्थ्यो । शुरुमा रिक्साले यात्रु खोसे । त्यसपछि मिनी बस र अहिले इलेक्ट्रिक रिक्साले । केही बर्षअघिसम्म दुई–चार वटा टाँगा मुश्किलले देख्न पाइने नेपालगन्जमा अहिले अहिले टाँगा देख्न पाइँदैन । नेपालगन्जबाट भारतीय सीमा रुपैडिहासम्म किनमेल, घुमघाम लगायत काममा जाँदा पहिलो रोजाइको साधन हुन्थ्यो, टाँगा ।
नेपालगन्जको परिचयसँग जोडिएको यो व्यवसाय पछिल्लो समयमा लोप हुने सङ्घारमा पुगेको छ । आधुनिक यातायातका साधनको सङ्ख्या बढेसँगै यो व्यवसायमा सङ्कट आएको हो । उतिबेला नेपालगन्जमै करीव ५०० को हाराहारीमा टाँगा रहेकामा अहिले पुरै हराएका छन् । व्यवसाय सङ्कटमा परेपछि अधिकाँश टाँगा व्यवसायी मजदुरीका भारत जाने गरेका छन् । हाल टाँगा चलाउने पेशा गर्ने धेरैले घोडा बेचिसकेका छन् ।

‘राजा, महाराजा र मन्त्रीहरू आउँदा पनि टाँगा चढ्ने गरेको इतिहास छ,’ साहित्यकार रेग्मीले त्यो समय सम्झँदै भने, ‘नेपालगन्ज आउनु भनेको टाँगा चढ्नु हो भन्ने चलन जस्तै थियो । समयको मागसँगै मानिसमा आएको विलासिताको लहडले नेपालगन्जमा टाँगा लोप हुँदै गएका छन् । मानिसहरु आजभोलि रिक्सा चढ्छन्, गाडीमा हुइँकिन्छन् ।’ यतिबेला नेपालगन्जमा मुश्किलले पाँच–छ वटा टाँगा मात्र देखिन्छन् ।
अर्का साहित्यकार एवं नेपालगन्जका पुराना बासिन्दा सच्चिदानन्द चौवेका अनुसार रानीबगियाका चुन्नी साहुका कुनैबेला १२ वटासम्म घोडा थिए । त्यसबेला उनी टाँगा चलाउँथे, अरूलाई पनि भाडामा दिन्थे । टाँगाको स्थान रिक्सा, अटोरिक्सा र विभिन्न मोटरगाडीले लियो । टाँगा व्यवसायीहरु विस्तारै विस्थापित भए । उनीहरुले समयको मागलाई ध्यानमा राख्दै आफ्नो पेशासमेत बदलेका छन् ।
टाँगा चढेर राप्ती नदीको किनारमा घुम्न र नुहाउन गएको विगत सम्झँदा चौवे भावुक हुन्छन् । ‘टाँगा विस्थापनसँगै यहाँका धेरै सुमदायको रोजीरोटी खोसिएको छ,’ उनले विगत र वर्तमानलाई तुलना गरे, ‘अहिले घोडाको कामै छैन ।’ टाँगाहरुको आधुनिकीकरण हुन नसक्नु र संरक्षणको पहल नहुनु नै टाँगा विस्थापनको कारण भएको उनको ठम्याइ छ । अहिले धेरै मानिसहरू घोडाको तस्वीर खिच्न मात्रै आउने गरेको टाँगा चालकहरू बताउँछन् ।
‘अहिले नेपालगन्जमा टाँगा हाँकेर गुजारा गर्न होइन घोडालाई पाल्नसमेत मुस्किल छ,’ ४५ वर्षदेखि टाँगा व्यावसाय गर्दै आएका मुन्ना भन्छन् । घोडालाई खुवाउने घाँसको धुलो, चनाको पीठो र धानको भुस किन्नसमेत पैसा नभएपछि घोडालाई खुला चौरमा चर्न छोडिदिने गरेको उनी बताउँछन् । ‘कुनैबेला घोडाका चरन पनि अहिले घरहरुले भरिएका छन्, टाँगामा चढ्ने मान्छे पनि गाडीमा भरिन्छन्,’ मुन्नाले भने, ‘अहिले टाँगा पुरै बिस्थापित भइसके ।’
नेपालगन्जमा रहेका केही टाँगा व्यवसायीहरुको यही नै हो पीडा । पहिले मुस्लिम समुदायमा धेरैजसोले टाँगा चलाउँथे । ‘टाँगा हराए, हाम्रो काम पनि सकियो । टाँगाको शहर नेपालगन्ज अब एकादेशको कथाजस्तै भइसक्यो,’ टाँगा व्यवसायी मुन्ना भन्छन्, ‘टाँगाको शहरको पहिचान गुमेको छ । टाँगा चालकको रोजगारी पनि खोसिएको छ ।’ टाँगा हराउँदा टाँगाका लागि घाँस काट्ने घँसियारहरुको समेत पुख्र्यौली पेशा सङ्कटमा परेको छ ।

टाँगा हराउँदा घँसियारको जीविका मात्र नभई इतिहास पनि सङ्कटमा परेको नेपालगन्ज महेन्द्रपार्कस्थित घाँस मण्डीका घँसियारहरु बताउँछन् । टाँगाका लागि पालिएका घोडालाई धेरै घाँस चाहिन्थ्यो, त्यसैले माग धान्न मुस्किल थियो तर, अहिले घोडा नै नभएपछि उनीहरु पनि बेरोजगार बनेका हुन् । टाँगा चालक तथा टाँगा व्यवसाय गर्दै आएका अधिकाँश हाल ईंटा भट्टामा ईंट्टा, माटो बोक्ने, हार्डवेयर लगायतका सामग्री ढुवानी गर्छन् ।
‘यहाँ पनि प्रतिष्पर्धा धेरै भएकाले काम पाउनै मुश्किल छ,’ नेपालगन्ज धम्बोझीमा भेटिएका पुराना बग्गी चालक जलाल बेहना बताउँछन् । नेपालगन्जदेखि भारतीय सीमावर्ती बजार रुपैडिहाबाट सामान खरिद गरी ल्याउने र आवातजावत गर्ने मुख्य साधनका रुपमा रहेको थियो टाँगा । त्यो बेला नेपालगन्जमा टाँगा सञ्चालकहरुको सङ्गठन नै थियो । आधुनिक सवारी साधनले टाँगा विस्थापन गरेपछि टाँगा स्टेशनसम्म भेट्टाउन सकिन्छ, टाँगा भेट्टाउन सकिँदैन ।
कुनैबेला नेपालगन्ज उपमहानगरपालिका सरस्वती माविको छेउमा टाँगा स्टेशन थियो । जुन स्थान अझ पनि टाँगा स्टेशनका रुपमा परिचित छ । नेपालगन्जको यो पहिचानलाई जोगाउन नेपालगन्ज उपमहानगरपालिकाले चासो नदिएको टाँगा व्यवसायीहरुको गुनासो छ । पाँच वर्ष अघिसम्म टाँगा व्यवसायी समितिका अध्यक्ष रहेका सहादल अलीका अनुसार विगतमा रिक्साका कारण समस्यामा परेको व्यवसाय अटोरिक्सा आएपछि टाँगा व्यवसाय अब एकादेशको कथाजस्तै भएको छ ।
विस्थापित नै हुने अवस्थामा पुगेपछि टाँगावालहरू आन्दोलन र विरोधमा पनि उत्रिए तर, उनीहरुको केही लागेन । मुख्य चोक धम्बोझी छेउको बेलासपुरबाट टाँगा स्ट्यान्ड नगर भवन सामुन्ने सारियो । सुर्खेत रोड चार लेनमा विस्तार हुने बेलासम्म स्थानीय प्रशासन र प्रहरीले रुट फेरेर टाँगालाई अस्पताल रोडमा मात्र सीमित गरिदिए । टाँगाबाट जीविका चल्न छाडेपछि केही व्यवसायी भारत छिरेर मजदूरी गरिरहेका छन् ।
केही रैथानेले आफ्ना घोडा र खच्चडलाई ईंटाभट्टामा लगाएका छन् । अहिले स्टेशनमा टाँगा नै देखिँदैनन् । ‘पुराना रिक्सा चलाउनेले ऋण लिएर बिजुली रिक्सा किनेका छन् । हामी भएको घोडा कहाँ बेचौँ भन्ने अवस्थामा पुगेका छौँ,’ उनले भने । पाँच वर्ष अघिसम्म दैनिक रु दुई हजारदेखि रु तीन हजारसम्म कमाउँदै आएका टाँगा व्यावसायीले घोडा र खच्चड बेचेर टाँगाको व्यवसाय छाडेर अरु काम गर्न थालेको उनको भनाइ छ । त्यसकारण उनीहरु यो पेशा छाडिरहेका छन् ।
सत्यपाटी