२०८३ साउन २० , बुधबार 6, August 2026, Thursday

राप्ती नदीको तटबन्धले जमिन र बस्ती जोगिए

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ साउन २० गते बुधबार

राप्ती नदीको बाढी, डुबान र कटानबाट बाँकेका गाउँबस्ती तथा खेतीयोग्य जमिन जोगाउन तीन हजार ५५० मिटर स्थायी तटबन्ध निर्माण गरिएको छ । तटबन्ध निर्माणसँगै बर्सेनि बाढीको उच्च जोखिममा रहने नदी तटीय क्षेत्रका बासिन्दाले राहत महसुस गर्न थालेका छन् ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङका अनुसार बाँकेको पश्चिम राप्ती नदीका जोखिमयुक्त क्षेत्रमा निर्माण गरिएको स्थायी तटबन्धले सयौँ बिघा खेतीयोग्य जमिन संरक्षण गर्नुका साथै नदी कटानको जोखिममा रहेका बस्तीलाई सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

आयोजना प्रमुख निश्चल छत्कुलीका अनुसार राप्तीसोनारी गाउँपालिकाको कचनापुर र बिनौनामा एसियाली विकास बैङ्कको सहयोगमा दुई हजार ५०० मिटर तटबन्ध निर्माण गरिएको छ । उनले बाढी र नदी कटानबाट हुने क्षति न्यूनीकरण हुनुका साथै खेतीयोग्य जमिन संरक्षणमा समेत उल्लेखनीय योगदान पुगेको दाबी गरे ।

राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले खल्ला झगडियामा निर्माण गरिएको स्थायी तटबन्धले नदी किनारका बस्तीलाई बर्खायाममा हुने कटान र डुबानको जोखिमबाट जोगाएको बताए । विगतमा बर्खा लाग्नेबित्तिकै स्थानीयवासी रातभर जाग्राम बस्नुपर्ने अवस्था रहे पनि तटबन्ध बनेपछि त्यो त्रास उल्लेख्य रूपमा घटेको उनको भनाइ छ ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले तटबन्ध निर्माणसँगै बर्सेनि हुने बाढीजन्य क्षति न्यूनीकरण हुनुका साथै स्थानीयवासीमा सुरक्षा अनुभूति बढेको बताए । उनले भने, ‘पहिले आकाशमा बादल लाग्नासाथ नदी तटीय क्षेत्रका बासिन्दा त्रसित हुन्थे । अहिले स्थायी तटबन्ध बनेपछि त्यो डर धेरै हदसम्म हटेको छ ।’

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमहीले आगामी दिनमा पनि नदी नियन्त्रण तथा तटीय क्षेत्रको संरक्षणका लागि आवश्यक स्थानमा थप संरचना निर्माणलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २० गते बुधबार