नेपाल–भारत सीमापारि रुपैडिहास्थित रोडवेज बसपार्कबाट भारतका विभिन्न सहरमा जाने र आउने नेपाली यात्रुले आफूहरूप्रति अभद्र व्यवहार हुने गरेकाले असुरक्षा महसुस गरेको बताएका छन् । खास गरी उनीहरूले ई–रिक्सा चालकको मनपरीका कारण दैनिक सास्ती खेप्दै आएको गुनासो गरेका छन् ।
भारतको शिमलाबाट काम गरेर फर्किनुभएका जाजरकोट ढिमेका नन्दलाल विकले बस रोकिना साथ यात्रुमाथि झम्किने, सामान खोसेझैँ गरेर उठाउने र सवारी तानातान गर्ने घटनाले आफूहरू असुरक्षित महसुस गरिरहेको दुखेसो गरे । उनले सोही कारणले सीमा क्षेत्रमा असुरक्षा बढेको जनाउँदै भारत र नेपालका प्रहरीसमक्ष सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन् ।
रुपैडिहा बसपार्कमा हरिद्वार, शिमला, दिल्ली, जयपुर, कानपुर, लखनउ, मुम्बई, आगरा, मथुरा, गोवा र गुजरात लगायत भारतका विभिन्न सहरबाट आउन र जानका लागि रोडवेज बसहरू दैनिक सञ्चालन भइरहेका छन् । ती बसहरूबाट ठुलो सङ्ख्यामा नेपाली यात्रु सीमा क्षेत्रमा ओर्लिने गरेका छन् ।
भारतको जयपुरबाट फर्किएका सल्यान कपुरकोटका रामसिंह धामीले बस रोकिने बित्तिकै रिक्सा चालकले तानातान गर्ने, गालीगलौज र हातपात गर्ने गरेको र मनपरी पैसा पनि असुल गर्ने गरेको बताए । उनले ई–रिक्सा चालकले बस रोकिएलगत्तै चारैतिरबाट बस घेर्ने गरेको र जबरजस्ती तान्ने गरेकाले केही नेपालीहरू घाइते समेत भएको गुनासो गरे ।
नेपाली यात्रुका अनुसार, केही चालक जबर्जस्ती बसभित्रै प्रवेश गरेर यात्रुको सामान उठाउन थाल्छन् भने केहीले यात्रुको अनुमति नै नलिई झोला तथा ब्याग आफ्नै ई–रिक्सामा राखिदिने गर्छन् । यस्तो भीडभाड र हतारको फाइदा उठाउँदै कतिपय यात्रुको सामान हराउने गुनासोसमेत आउने गरेको छ ।
सवारी चढाउने प्रतिस्पर्धा झन् उग्र बन्दा नेपाली यात्रुमाथि धक्का–मुक्की, सामान तानातान, गालीगलौज र कहिलेकाहीँ कुटपिटसम्मका घटना हुने गरेको यात्रुको भनाइ छ । सो समस्या बढ्दै गएपछि रोडवेज डिपो प्रशासनले स्थानीय प्रहरीलाई जानकारी गराएको जनाएको छ । सोलगत्तै रुपैडिहा प्रहरी थानाका प्रमुख प्रभारी निरीक्षक हरेन्द्रकुमार मिश्रले बिहानको समयमा यात्रुको सुरक्षालाई ध्यानमा राखेर बसपार्कमा दुई जना प्रहरी खटाउने आश्वासन दिए ।
रुपैडिहा प्रहरी थानाका प्रमुख मिश्रले यात्रुको सुरक्षालाई ध्यानमा राखेर बिहानको समयमा दुई जना प्रहरीको ड्युटी लगाइने जनाउँदै त्यसबाट सुरक्षा व्यवस्था कायम गर्न र अव्यवस्था फैलाउनेमाथि प्रभावकारी नियन्त्रण गर्न सकिने बताए । उता, रोडवेज डिपोका प्रभारी राम प्रकाशका अनुसार यस समस्याबारे यसअघि पनि स्थानीय प्रहरीलाई पटक–पटक जानकारी गराइएको भए पनि प्रहरी नखटाउँदा अवस्था यस्तो भएको बताए ।
यात्रुको चाप हुने समयमै पर्याप्त सुरक्षा व्यवस्था नहुँदा बसपार्क क्षेत्रमा अराजक गतिविधि मौलाउँदै गएको स्थानीयले बताएका छन् । रुपैडिहा बजारका स्थानीय नबी अहमदले प्रहरीले बिहानको समयमा बसपार्कमा दैनिक प्रहरीहरू परिचालन गरेर सुरक्षा व्यवस्था कडा पार्नुपर्ने आवश्यकता औँल्याए ।
सत्यपाटी