खेतीपातीको मुख्य समयमा पनि रासायनिक मलको अभाव हट्न नसक्दा बाँकेका किसानले यस वर्ष पनि सास्ती खेप्नुपरेको छ । धान गोड्ने महत्वपूर्ण समय बित्न लाग्दासमेत पर्याप्त मल नपाएपछि किसानहरू बिहानैदेखि सहकारीको गेटमा लामो लाइन बस्न बाध्य भएका छन् ।
कोहलपुरको साझा चोकस्थित कोहलपुर सहकारी संस्था लिमिटेडमा बिहीबार बिहानैदेखि ठूलो संख्यामा किसानहरू रासायनिक मल लिन पुगेका थिए । मल सीमित परिमाणमा उपलब्ध हुँदा पालो कुर्दै घण्टौँ लाइन बस्नुपरेको र घण्टौ लाइनमा बस्दासमेत मल नपाएको किसानहरूले गुनासो गरेका छन् । कोहलपुर–४ का किसान जिवन थापाले प्रत्येक वर्ष खेतीको समयमा यस्तै समस्या दोहोरिने गरेको भए पनि यसको स्थायी समाधान हुन नसक्दा समस्या ज्युँका त्यु नै रहेको बताए ।
उनले यस वर्ष वितरण प्रणालीमा केही सुधार हुने र सहज रूपमा मल पाइने अपेक्षा गरिए पनि अवस्था फेरि उस्तै बनेको समेत गुनासो गरे । कोहलपुर–७ का किसान चैते थारुले बिहानैदेखि लाइनमा बसेपनि मल नपाएर फर्कनुपरेको दुखेसो गरे । उनले धान गोड्ने समय भइसक्दा पनि आवश्यक मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ताले सताउन थालेको बताए । थारुले समयमै मल प्रयोग गर्न नसके धानबालीको वृद्धि र उत्पादन दुवै प्रभावित हुने भएकाले आफुहरुलाई थप चिन्तित बनाएकोले मलको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरे ।
जिल्लाका अधिकांश किसानहरूले मल आपूर्ति र वितरण व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् । बाँके डुडुवा गाउँपालिका–३ का किसान रमेश मौर्यले हरेक वर्ष एउटै समस्या दोहोरिरहँदा किसानले खेतीभन्दा बढी समय मलको खोजीमै खर्चिनुपर्ने अवस्था रहेकोले खेती पनि प्रभावित हुँदै आएको बताए ।
कोहलपुर सहकारी संस्था लिमिटेडका व्यवस्थापक जुल्फिकार अलिले कृषि सामग्रीबाट ५०–५० केजीका ४२० बोरी युरिया मल र ९२ बोरी डिएपी मल आएकोमा मल लिन आउनेको संख्या दुई हजारभन्दा बढी भएकोले वितरणमा समस्या भएको बताए । उनले विहिबार १५० जनाजतिलाई मात्र २५–२५ केजीको बोरी बनाएर एक एक बोरी मल वितरण गरिएको र २०० जनालाई कुपन वितरण गरेर कुपन लिएर आउन अनुरोध गरिएको बताए । व्यवस्थापक अलीले आएको मल भन्दा माग गर्ने किसानको संख्या धेरै बढी भएकोले समस्या भएको बताए ।
जिल्लाका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकोले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा निमित्त प्रबन्धक लालबहादुर थारुले बताए । उनले गत आर्थिक वर्ष २०८२–०८३ मा कृषि सामाग्री कम्पनी लिमिटेड बाँकेबाट चार हजार ८२२ मेट्रिक टन युरिया, दुई हजार ६३३ मेट्रिक टन डिएपी र २०७ मेट्रिक टन पोटास बिक्रि गरिएको जनाउँदै चालु आव २०८३–०८४ को हालसम्म ८५९ मेट्रिक टन युरिया, १९९ मेट्रिक टन डिएपी र १३ मेट्रिक टन पोटास पालिकाहरुमा पठाइसकेको बताए ।
सत्यपाटी