बाँकेमा अस्पतालको सङ्ख्या र बिरामीको चाप बढ्दै जाँदा रगतको माग पनि निरन्तर बढ्दै गएको छ । रगतको माग अत्यधिक भएकाले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रले पटक–पटक रक्तदान कार्यक्रममा सहभागी हुन रक्तदातालाई आग्रह गर्दै आएको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताए । उनका अनुसार रगतको माग उच्च रहेकाले अधिकांश समय अभावको अवस्था रहने गरेको छ ।
यही आवश्यकतालाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले ६१औँ रक्तसञ्चार सेवा स्थापना दिवस सप्ताहव्यापी रक्तदान कार्यक्रमसहित मनाएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अछामी सेवा समाज बाँकेले ५१ पिन्ट, राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुरले ८१ पिन्ट तथा भेरी अस्पताल नेपालगन्जले आफ्नो १३६औँ वार्षिकोत्सवका अवसरमा ३३ पिन्ट रगत सङ्कलन गरेको प्रमुख रेग्मीले जानकारी दिए ।
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जका अनुसार आर्थिक वर्ष २०८२–०८३ मा केन्द्रबाट २४ हजार ५२६ पिन्ट रगत वितरण गरिएको छ । नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्रमा रहेका २२ वटा अस्पतालमार्फत चिकित्सकको सिफारिसका आधारमा बिरामीलाई रगत उपलब्ध गराइएको उनले बताए । बाँके जिल्ला स्वास्थ्य सेवाको प्रमुख केन्द्रका रूपमा विकसित भएकाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि यहाँ आउने गरेका छन् ।
यही कारण सुरक्षित र पर्याप्त रक्तसञ्चार सेवाको आवश्यकता निरन्तर बढिरहेको प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका सभापति गोवर्धनसिंह सम्झनाले स्वास्थ्य सेवा विस्तारसँगै जिल्लामा रगतको आवश्यकता वर्षेनी बढ्दै गएको बताए । उनले स्वयंसेवी तथा संस्थागत रक्तदाताको योगदानको प्रशंसा गर्दै भने, ‘अस्पतालको संख्या बढेको छ, बिरामीको चाप पनि उल्लेख्य रूपमा बढेको छ । त्यसअनुसार रगतको माग हरेक दिन बढिरहेको छ । यस्तो अवस्थामा स्वयंसेवी तथा संस्थागत रक्तदाताले पुर्याएको योगदान अत्यन्त महत्त्वपूर्ण छ ।’
हाल नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले जिल्लाका तीन स्थानबाट रक्तसञ्चार सेवा सञ्चालन गरिरहेको छ । प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्ज, कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालस्थित रक्तसञ्चार सेवा इकाइ तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरास्थित रक्तसञ्चार सेवा इकाइमार्फत नियमित रूपमा रक्तसञ्चार सेवा प्रदान हुँदै आएको छ । रेडक्रसले नियमित रक्तदानको संस्कृतिलाई थप सुदृढ बनाउने, रगतको अभाव हुन नदिने तथा स्वयंसेवी रक्तदाताको सङ्ख्या बढाउने उद्देश्यले समय–समयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
सत्यपाटी