२०८३ भदौ १ , सोमबार 17, August 2026, Monday

क्यान्सर अस्पतालको स्वास्थ्य उपकरण मर्मत

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ साउन १५ गते शुक्रबार

चितवनको भरतपुरदेखि पश्चिमतर्फको एक मात्र क्यान्सर अस्पताल सुशील कोइराला क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि बिग्रेर थन्किएका दर्जनबढी आवश्यक उपकरणको राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकले मर्मत गरेका छन् । अस्पतालमा लामो समयदेखि बिग्रिएर थन्किएका आवश्यक उपकरणको मर्मत सम्भारका लागि साउनको पहिलो सातामा राष्ट्रिय आविष्कार केन्द्र र क्यान्सर अस्पताल खजुराबीच सम्झौता भएको सुशील कोइराला क्यान्सर अस्पतालका निर्देशक डा.निरज भट्टराइले जानकारी दिए ।

उनले सम्झौता भएलगत्तै राष्ट्रिय आविष्कार केन्द्रका बायो मेडिकल टिमलिडर इन्जिनियर उमेश किरातको नेतृत्वमा रहेको पाँचजना प्राविधिकको टोलीले अस्पतालमा आएर एकसाता बसेर लामो समयदेखि बिग्रिएर राखिएका उपकरणहरुको मर्मत सम्भार गरेको बताए । उनले मर्मत सम्भार गरिएको उपकरणमा क्यान्सर सम्बन्धी रोग परीक्षण तथा उपचार गर्ने विभिन्न मेसिन तथा उपकरण रहेको जनाए । ती उपकरणहरु मर्मत सम्भार भइ पुनः सञ्चालनमा आएपछि त्यहाँ आउने बिरामीलाई उपचार लिन सहज र सरल भएको अस्पतालले जनाएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रका बायो मेडिकल टिमलिडर इन्जिनियर उमेश किरातले अस्पतालसँग केन्द्रको सम्झौता भए बमोजिम आफूहरुले तत्काल आएर लामो समयदेखि बिग्रिएका अस्पतालका विभिन्न उपकरणहरुको मर्मत सम्भार गरेको बताए । टिमलिडर इन्जिनियर किरातका अनुसार मर्मत सम्भार गरिएका उपकरणहरुमा एक्सरे मेसिन दुईवटा, अल्ट्रासाउन्ड मेसिन एउटा, भेन्टिलेटर तीनवटा, एनेस्थेसिया मेसिन एउटा, केमो क्याबिनेट एउटा, माइक्रोस्कोप र ल्याप्रोस्कोपी टावर लगायत छन् ।

ल्याप्रोस्कोपी टावरको केही सामान यहाँ उपलब्ध नभएर बाहिरबाट मगाउनुपर्ने देखिएको पनि इन्जिनियर किरातले बताए । सोही कारणले अस्पतालमा बिग्रिएको मेमो ग्राफको पनि मर्मत सम्भारमा समस्या परेको उनको भनाइ छ । खजुराका स्थानीय अगुवा महेन्द्र मल्लले लामो समयदेखि बिग्रिएर थन्किएका अस्पतालको विभिन्न उपकरणको मर्मत सम्भार भएपछि अब बिरामीलाई साना परीक्षणका लागि पनि बाहिर जानुपर्ने बाध्यताको अन्त भएको बताए । उनले सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई अझै बलियो र सदृढ बनाउँदै देशभरि बिग्रिएका विभिन्न क्षेत्रका उपकरण मर्मत र नयाँ निर्माणमा सक्रिय बनाउनुपर्ने माग गरे ।

प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रबार