रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजिगार्ड खोला नजिक भेरी करिडोर सडक खण्डमा ग्यास सिलिण्डर बोकेको मिनि ट्रक दुर्घटना भएको छ । उक्त ट्रक खोलामा पल्टिएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार आज (बिहीबार) दिउँसो करिब ४ः३० बजेतिर नेपालगन्जबाट ग्यास सिलिण्डर बोकेर डोल्पातर्फ जाँदै गरेको लु.प्र.०३–००१ क ००४१ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
उनका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–३ निवासी अन्दाजी २५ वर्षीय टेकबहादुर बुढाले चलाएको ट्रक सडकको लिकभन्दा बाहिर टायर गएपछि चालक साइडतर्फको खोलामा पल्टिएको थियो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।
प्रारम्भिक विवरण अनुसार ट्रकमा ३२० ग्यास सिलिण्डर लोड गरिएको थियो। तीमध्ये करिब सातदेखि आठ वटा सिलिण्डर खोलामा बगेको बुझिएको छ । घटनास्थलमा प्रहरी पुगेको छ भने थप अनुसन्धान अगाडी बढाएको बताइएको छ ।
