नेपाल प्रहरीले पछिल्ला केही महिनायता ठमेल, दरबारमार्ग लगायत पर्यटकीय क्षेत्रबाट ५७ जना विदेशी महिलालाई पक्राउ गर्यो । त्यसरी पक्राउ पर्नेहरूमा युगान्डा, भियतनाम, थाइल्याण्ड, बैंकक, बंगलादेश, केन्या र इन्डोनेसिया नागरिक थिए । अनैतिक गतिविधि (यौन क्रियाकलाप)मा संग्लन भएको भेटिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
नेपाल प्रहरीका अनुसार, पक्राउ परेका ५७ जना विदेशी महिलामध्ये ४७ जनालाई अध्यागमन विभागमार्फत देश निकाला (डिपोर्ट) गरिएको छ । बाँकी १० जनामाथि अनुसन्धान चलिरहेको भनाई प्रहरीको छ । अवैध गतिविधिमा संलग्न ठूलो संख्यामा विदेशीलाई नेपालले वर्षेनी डिपोर्ट गर्दै आएको छ । सन् २०२६ को जनवरी १ यता मात्र हामीले २८७ जना विदेशीलाई डिपोर्ट भइसकेका छन् ।
गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार केही महिना अघिसम्म प्रहरीले पक्राउ गरेर बुझाएकालाई विभागले कारवाही अघि बढाउँथ्यो । पछिल्ला महिना विभाग आफैँ सक्रिय हुँदै अवैध कार्यमा संलग्न विदेशीलाई नियन्त्रणमा लिई अनुसन्धान गरी डिपोर्ट गर्ने गरेको छ ।
भिसाको उद्देश्यविपरीत नेपालमा बसेका, लागूऔषध कारोवार, मानव बेचबिखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन, अभद्र व्यवहार लगायतका कसूरजस्ता अपराधमा सजायँ भुक्तान गरेका विदेशीलाई नेपालले डिपोर्ट गर्दै आएको छ । विभागका प्रवक्ता ढकालका अनुसार, नेपालले पछिल्लो चाढे पाँच वर्षको अवधिमा अर्थात सन् २०२१ देखि २०२६ को जुलाई २६ सम्म कुल २ हजार ५५७ जना विदेशीलाई डिपोर्ट गरेको छ ।
उक्त अवधिमा डिपोर्ट हुने विदेशीमध्ये २७.१८ प्रतिशत चिनियाँ नागरिक छन् । ‘पछिल्ला वर्षमा डिपोर्ट हुने विदेशीमा सबैभन्दा ठूलो संख्या चिनियाँ नागरिक छन्,’ विभागका प्रवक्ता ढकालले भने । सन् २०२५ मा नेपालले अवैध क्रियाकलापमा संलग्न ५२३ जना विदेशीलाई डिपोर्ट गरेको थियो । तीमध्ये ४०९ जना ओभरस्टे (भिसा सकिएपछि पनि बस्ने) गर्नेहरू थिए ।
सन् २०२५ मा १२० जना चिनियाँ, ७५ जना बंगलादेशी, ३५ जना अमेरिकी, २२ जना बेलायती, १८ जना पाकिस्तानी लगायत अन्य देशका नागरिकलाई नेपालले डिपोर्ट गरेको थियो । नेपालले डिपोर्ट गरेको तथ्याङ्कले पछिल्ला वर्षहरूमा डिपोर्ट हुने विदेशकीको संख्या प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ । विभागको तथ्याङ्क अनुसार, सन् २०२१ मा नेपालले २१८ जनालाई डिपोर्ट गरेको थियो ।
डिपोर्ट हुनेमा ३४ जना चिनियाँ, १९ जना अमेरिकन, १६ जना बेलायती, १२ जना पाकिस्तानी, ११ जना दक्षिण कोरियाली र १०१ जना अन्य देशका नागरिक थिए । सन् २०२२ मा नेपालबाट डिपोर्ट हुने विदेशीको संख्या ह्वात्तै बढेर ५७० पुगेको थियो । यो वर्ष १९१ जना चिनियाँ, ४८ जना अमेरिकन, ३७ जना बेलायती, १९ जना फ्रेन्च, १८ जना पाकिस्तानी र २५७ जना अन्य देशका नागरिकलाई नेपालले डिपोर्ट गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
सन् २०२२ को तुलनामा वर्ष २०२३ मा नेपालबाट डिपोर्ट हुने विदेशीको संख्या थोरै घटेको देखिन्छ । सन् २०२३ मा नेपालले ४५८ जनालाई डिपोर्ट गरेको थियो । डिपोर्ट हुनेमा २०९ जना चिनियाँ, ३७ जना अमेरिकी, १९ जना बंगलादेशी, १९ जना उज्वेक, १८ जना बेलायती र १५६ जना अन्य देशका नागरिक थिए । सन् २०२४ मा नेपालबाट डिपोर्ट हुने विदेशीको संख्या बढेर ५०१ पुगेको थियो ।
उक्त वर्ष डिपोर्ट हुनेमा १४१ जना चिनियाँ, ५४ जना अमेरिकी, ५१ जना बंगलादेशी, ३० जना पाकिस्तानी, २१ जना बेलायती र २०४ जना अन्य देशका नागरिक थिए । विभागको तथ्याङ्क अनुसार नेपालले सन् २०२१ मा २१८ जना, २०२२ मा ५७० जना, २०२३ मा ४५८ जना, २०२४ मा ५०१ जना, २०२५ मा ५२३ जना र सन् २०२६ को जनवरी १ देखि जुलाई २६ सम्मको अवधिमा २८७ जनालाई डिपोर्ट गरेको देखिन्छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार बितेको साढे १२ वर्षमा अर्थात सन् २०१४ देखि २०२६ जुलाई २६ सम्म नेपालले पाँच हजार ५९६ जना विदेशीलाई डिपोर्ट गरेको छ ।
