२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

एक वर्षमा १६२ वन्यजन्तुको सुरक्षित उद्धार

लोपोन्मुख वन्यजन्तु सुन गोहोरोको सुरक्षित रुपमा उद्धार गरिएको छ । गुलरिया नगरपालिका–८ स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर परिसरमा सोमबार दिउँसो फेला परेको लोपोन्मुख वन्यजन्तु सुन गोहोरो सुरक्षित रुपमा उद्धार गरिएको हो ।

कार्यालय परिसरमा फेला परेको लोपोन्मुख वन्जयन्तु सुन गोहोरोको सुरक्षित उद्धारपछि डिभिजन वन कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार महतले बताए । उक्त सुन गोहोरोलाई प्राकृतिक बासस्थानमा छोडिएको डिभिजन वन कार्यालयका वनरक्षक भुपेन्द्रबहादुर शाहीले जनाए ।

गर्मी सिजनमा घरभित्र पसेका विषालु सर्प लगायत समस्याग्रस्त वन्यजन्तुलाई उद्धार गरी प्राकृतिक बासस्थानमा छाडिरहेको गरेको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीले बताए ।

‘वनमा २४ सैं घण्टा उद्धार टोली तैनाथ हुन्छ,’ वरिष्ठ वन अधिकृत चौधरीले भने, ‘वन कार्यालयमा खबर आउन साथ वन्यजन्तुबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले वनको टोली तत्काल परिचालन हुन्छ ।’

आर्थिक वर्ष २०८२–०८३ मा सर्वसाधारणको घरभित्र पसेका अति विषालु गोमन, करेत, रसल भाइपर लगायत १४६ सर्प, आठ चितुवा, दुई भैंसे गोहोरो, दुई सुन गोहोरो, कछुवा, निर बिरालो, मगर गोही, रातो बाँदरको सुरक्षित रुपमा उद्धार गरी प्राकृतिक बासस्थानमा छोडिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार