आफ्नै मुलुकको सुरुङमार्गमा गाडी चलाउने नेपालीको बर्सौँदेखिको सपना पूरा भएको छ । बहुप्रतीक्षित तथा मुलुकको राष्ट्रिय गौरवको आयोजना नागढुङ्गा सुरुङमार्गको सोमबार उद्घाटनसँगै पूर्वाधार विकास क्षेत्रमा नेपाल नयाँ अध्यायमा प्रवेश गरेको छ । सुरुङमार्ग उद्घाटनसँगै नेपाल आधुनिक सडक सुरुङ युगमा प्रवेश गरेको छ ।
धादिङको सिस्नेखोला र काठमाडौँको बलम्बुसम्मको सुरुङमार्ग सञ्चालनपछि नागढुङ्गा हुँदै राजधानी भित्रिने र बाहिरिने यातायातले खेप्नुपर्ने पट्यारलाग्दो जाम अन्त्य हुनेछ । तीव्र घुम्ती र पहिरोको जोखिममा रहने थानकोट–नागढुङ्गाको एक घण्टाभन्दा लामो यात्रा केही मिनेटमै पूरा हुने छ । ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ गतेदेखि निर्माण सुरु गरिएको यो सुरुङमार्ग करिब ८० महिनापछि सञ्चालनमा आएको हो ।
पूजाआजा र स्वस्ति वाचनसँगै सोमबार बिहान साढे १० बजेको शुभसाइतमा रिबन काटेर सुरुङमार्ग उद्घाटन गरियो । उद्घाटन क्रममा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले पानसमा दीप प्रज्ज्वलित गरे । उनीसँगै पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का केन्द्रीय अध्यक्ष डा.नाताका अकिहितो, नेपालका लागि जापानका राजदूत माइदा तोरू र सुरुङमार्ग निर्माणमा संलग्न ६३ वर्षीय श्रमिक पूर्ण जोशीले एकसाथ रिबन काटेर सुरुङमार्ग उद्घाटन गरे ।
यसअघि मन्त्री लम्सालले जापान–नेपाल मित्रता र सहयोगको प्रतीकका रूपमा स्थापित शिलालेख अनावरण गरेका थिए । त्यस्तै उनले उद्घाटन सम्पन्न भएको प्रतीकका रूपमा स्थापित ताम्रपत्रको अनावरण गरे । उद्घाटनपछि सञ्चारकर्मीसँग मन्त्री लम्सालले अब मुलुक आधुनिक सडक सुरुङ युगमा प्रवेश गरेको भन्दै यस्ता सुरुङमार्ग मुलुकको विभिन्न भागमा निर्माण गरिने बताए । उनले भने, ‘अब मुलुक टनेल युगमा प्रवेश गर्यो । अब देशैभरि यस्ता टनेल बन्नेछन् ।’
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले केही ढिलै भए पनि नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपाल पनि सुरुङमार्गको युगमा प्रवेश गरेको बताए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले भने, ‘नागढुङ्गा सुरुङमार्ग पहिलो हो तर अन्तिम होइन ।’
यो सुरुङमार्ग सञ्चालनसँगै मुलुकमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु भएको बताउँदै उनले यस सुरुङमार्ग निर्माणले जतिसुकै कठिन भौगोलिक अवस्था भए पनि राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यता भए नेपालले महत्वाकाङ्क्षी तथा ठुला पूर्वाधार परियोजना सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ भने उदाहरण स्थापित भएको धारणा व्यक्त गरे ।
मित्रताको जीवन्त प्रतीक
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का केन्द्रीय अध्यक्ष डा.नाताकाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको स्मरण गर्दै नागढुङ्गा सुरुङमार्ग परियोजनालाई पारस्परिक विश्वास र दीर्घकालीन मित्रताको जीवन्त प्रतीकका रूपमा व्याख्या गरे । यो परियोजना नेपालको यातायात विकासको ऐतिहासिक फड्को भएको बताउँदै उनले नेपाल–जापान सहकार्य, प्राविधिक सिप हस्तान्तरण र ७० बर्से दौत्य सम्बन्धको प्रगाढ मित्रतामाथि विशेष जोड दिए ।
नेपालका लागि जापानका राजदूत माइदाले नागढुङ्गा सुरुङमार्ग नेपाल–जापान सम्बन्धको कसिलो कडी रहेको उल्लेख गर्दै यसको उद्घाटनलाई नेपालको पूर्वाधार विकासको ऐतिहासिक क्षण बताए । यस सुरुङमार्गले नेपालको यातायात विकासमा नवीनता र सहजता ल्याई आर्थिक विकासको प्रवेशद्वारका रूपमा काम गर्ने विश्वास व्यक्त गरे । नेपाल र जापानबीच दौत्यसम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठकै वर्ष यो सुरुङमार्गको उद्घाटनले विशेष महत्व राखेको चर्चा गर्दै उनले सुरुङमार्ग सञ्चालनले स्थानीयको जीवनस्तरमा सुधार आउने बताए । साथै राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण योगदान पुग्ने राजदूत तोरूको भनाइ छ ।
कुन गाडीलाई कति दस्तुर ?
सरकारले राजपत्रमा सूचना प्रकाशित गरे अनुसार सार्वजनिक दर अनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीले काठमाडौँ छिर्दा ६५ रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्नेछ । त्यसैगरी मिनीबस, मिनीटिप्पर तथा ट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र काठमाडौँबाट बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्छ । बस, ट्रक (सिङ्गल रियर एक्सल)का हकमा काठमाडौँ भित्रिँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ दस्तुर तोकिएको छ । मल्टी एक्सल ट्रक तथा सवारीसाधन र भारी उपकरणलाई भित्र छिर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ दस्तुर तोकिएको छ ।
२५ अर्ब खर्च
गोरखापत्रसँग कुरा गर्दै सुरुङमार्ग आयोजना उपनिर्देशक सञ्जय पन्थीले सो आयोजना सम्पन्न गर्न कुल करिब २५ अर्ब रुपैयाँ खर्च भएको बताए । उनका अनुसार निर्माणमा १७ अर्ब, डलरको भाउ बढ्दा तथा निर्माण सामग्रीको मूल्यवृद्धि हुँदा दुई अर्ब र जग्गा मुआब्जामा छ अर्ब रुपैयाँ खर्च भएको हो । १९ अर्ब जापान सरकारको सहुलियतपूर्ण ऋणको रकम हो भने जग्गा मुआब्जाको सम्पूर्ण रकम नेपाल सरकारको हो ।
यो आयोजनाका लागि कुल ४८० रोपनी जग्गा अधिग्रहण गर्नु परेको उनले जानकारी दिए । यस आयोजना अन्तर्गत मुख्य सुरुङमार्ग २.६८ किलोमिटर (२६८८ मिटर) लामो छ भने आपतकालीन उद्धारका लागि २.५५ किलोमिटरको छुट्टै सुरुङ निर्माण गरिएको छ । कुल लम्बाइ २.७ किलोमिटर र चौडाइ (क्यारिज–वे) साढे नौ मिटरको यस सुरुङमार्गको बिचमा डेढ मिटर चौडाइको ‘मेडियन’ र आधा आधा मिटरको दुई वटा ‘सोल्डर’ निर्माण गरिएको छ ।
सत्यपाटी