२०८३ साउन ११ , सोमबार 27, July 2026, Monday

वन्यजन्तु रोक्न तारजाली, १४ सय घरधुरी लाभान्वित

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ साउन ११ गते सोमबार

मानव वन्यजन्तुबिचको द्वन्द्व रोक्न तथा वन्यजन्तुबाट स्थानीयको अन्नबाली जोगाउन गरिएको तारजालीले बाँकेका विभिन्न सामुदायिक वन उपभोक्ता समूह र मध्यवर्ती क्षेत्रअन्तर्गत १४ सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् । तारजालीले बाँकेका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका वन क्षेत्रभित्र पर्ने तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने मानववस्तीहरुको चौध सयभन्दा बढी स्थानीय घरधुरी लाभान्वित भएका हुन् ।

गत आर्थिक वर्ष २०८२–०८३ मा विभिन्न कार्यक्रममार्फत मानव वन्यजन्तुबिच हुने सम्भावित द्वन्द्व रोक्न तथा वन्यजन्तुबाट किसानका अन्नबालीमा हुने क्षतिबाट जोगाउन गरिएको तारजालीबाट विभिन्न सामुदायिक वन उपभोक्ता समूहका वन क्षेत्रभित्र पर्ने र मध्यवर्ती क्षेत्रभित्र पर्ने मानववस्तीका १४ सयभन्दा बढी स्थानीय घरधुरी लाभान्वित भएको डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शङ्कर गुप्ताले जानकारी दिए ।

गत आर्थिक वर्षमा विभिन्न छ वटा सामुदायिक वनका वनक्षेत्र र एउटा मध्वयर्ती नजिकको बस्तीबिच मेष तारजाली जडान गरिएको सिनियर डिभिजनल वन अधिकृत गुप्ताले जानकारी दिए । उनका अनुसार छवटा सामुदायिक वनका वनक्षेत्र र एउटा मध्यवर्ती क्षेत्र बस्तीबिच पाँच हजार २६० मिटर लम्बाइ रहेको मेष तारजाली जडान गरिएको हो । जसबाट १४ सयभन्दा बढी स्थानीय घरधुरी प्रत्यक्ष लाभान्वित भएको उनले बताए ।

उनका अनुसार मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि घेराबार कार्यअन्तर्गत नवप्रतिभा सावउस बैजनाथमा ६४० मिटर, न्यु हरियाली सावउस बैजनाथमा ३०० मिटर, वनदेवी सावउस राप्तीसोनारीमा १४ सय मिटर, राप्तीसोनारी १ अन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रमा ३०० मिटर, जयदुर्गा सावउस राप्तीसोनारीमा ७२० मिटर, लालीगुराँस सावउस राप्तीसोनारीमा ४०० मिटर र आस्था सावउस कोहलपुरमा १५ सय मिटर गरी पाँच हजार २६० मिटर तारजाली जडान गरिएको छ ।

डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले विभिन्न कार्यक्रममार्फत उक्त क्षेत्रमा मेष तारजाली जडान गरिएको जानकारी दिए । उनका अनुसार नवप्रतिभा सावउसमा नौ लाख ९० हजार, न्यु हरियालीमा सात लाख, वनदेवी सावउसमा आठ लाख र मध्यवर्ती क्षेत्रमा ६ लाख, जयदुर्गा सावउसमा पाँच लाख समूहको र पाँच लाख समृद्धिको लागि वन कार्यक्रममार्फत गरी जम्मा १० लाख रुपैयाँ लगानीमा तारजाली जडान गरिएको छ ।

त्यसैगरी लालीगुराँस र आस्था सावउसमा एकीकृत भू–परिधि व्यवस्थापन आयोजना (इलम) कार्यक्रमको सहयोगमा १०–१० लाख रुपियाँमा तारजाली जडान गरिएको सुवेदीले जानकारी दिए । सामुदायिक वन क्षेत्रभित्र रहेका मानववस्तीहरुमा समयसमयमा वन्यजन्तु पसेर घरपालुवा चौपायामाथि आक्रमण गर्ने, घाइते बनाइदिने तथा मारिदिने, अन्नबाली क्षति गरिदिने गर्दै आएका थिए भने वन्यजन्तुबाट स्थानीयसमेत सुरक्षित हुन सकेका थिएनन् । तारजाली निर्माणले बस्तीभित्र वन्यजन्तु भित्रिँदा वन्यजन्तु पनि असुरक्षित हुने र स्थानीय पनि असुरक्षित हुने तथा द्वन्द्वसमेत हुने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमबार