बाँके जिल्लामा हालसम्म ८५ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । गत वर्ष यो समयसम्म जिल्लामा धान रोपाइँ सम्पन्न भइसकेको थियो । कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतले पछिल्लो समयमा निरन्तर बर्षा भएपछि रोपाइँ तिव्र गतिमा भएकोले हालसम्म जिल्लामा ८५ प्रतिशत धान रोपाइँ भएको जनाए ।
गत वर्ष यति बेलासम्म रोपाइँ सकिएको जनाउँदै उनले यस पटक बर्षा ढिलो शुरु भएकोले रोपाइँ सम्पन्न हुन अझै केही दिन लाग्ने बताए । कृषि प्राविधिक अधिकृत बस्नेतले असार १५ गते धान दिवस मनाइरहँदा ०.५ प्रतिशत मात्रै रोपाइँ भएको यो जिल्लामा पछिल्लो समयमा बर्षा नियमित भएकोले तिव्र गतिमा रोपाइँ भएर ८५ प्रतिशत पुगेको बताए ।
जिल्लाको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा सबैभन्दा कम रोपाइँ भएको जानकारी आएको जनाउँदै उनले नरैनापुरमा हालसम्म ५५ प्रतिशत मात्रै रोपाइँ भएको जानकारी आएको बताए । बर्षा ढिलो गरि शुरु भएकोले नरैनापुरमा रोपाइँ सुस्त गतिमा भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
सो कार्यालयका अनुसार जिल्लाको सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकामा धान रोपाइँ भएको छ भने अन्य पालिकाहरुमा पनि रोपाइँ राम्रो भएको छ । पानीको अभावले असारको दोस्रो सातापछि जिल्लामा सुरु गरिएको रोपाइँ विभिन्न स्थानमा अझैपनि जारी रहेको छ । सिक्टा सिँचाइ आयोजनाको नहर र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गर्ने किसानको संख्या धेरै रहेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार सिक्टा सिँचाइ आयोजनाको पूर्वि र पश्चिमी मूल नहर तथा शाखा प्रशाखा नहरहरुबाट २५ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेकोले जिल्लामा धान रोपाइँ सहज र सरल भएको छ । बाँके जिल्लाका अधिकांश किसानले राधा चार मोटो धान र केही भारतीय हाइब्रिड जातका धानको रोपाइँ गर्दै आएका छन् । बाँकेमा कुल खेतीयोग्य ५५ हजार ८२६ हेक्टर क्षेत्रमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुँदै आएको छ ।
सत्यपाटी