बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन् कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट उत्पादन भएको वीर्यको माग उच्च रहेको छ । भारतीय मुर्रा राँगाबाट उत्पादन गरिएका जमेको वीर्यको माग अत्यधिक रहेको र माग धान्न पनि गाह्रो भइरहेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा.खिमानन्द खनालले भारतीय मुर्रा राँगाबाट उत्पादन भएको वीर्यको माग उच्च रहेको बताए । उनले भने, ‘नेपालमा रैथाने भैँसीको नश्ल सुधार गर्न र दुध तथा मासुको उत्पादन तेब्बरसम्म वृद्धि गर्ने उद्देश्यले नेपाल ल्याइएका भारतीय मुर्रा राँगाबाट भनेजस्तो प्रतिफल पाइन थालेपछि माग उच्च रहेको हो,’ उनले भने ।
उनले नेपाली मुर्रा राँगाबाट गर्भाधान भएका भैँसीबाट प्रतिबेत दुई हजारदेखि २५ सय लिटरसम्म दुध उत्पादन हुने र जमेको वीर्य उत्पादनका लागि प्रयोग भइरहेको भारतीय मुर्रा राँगाको आमाको ३८ सयदेखि चार हजार लिटरसम्म प्रतिबेत दुध उत्पादन हुने पाइएको हुँदा माग उच्च रहेको जानकारी दिए । भारत सरकारले नेपाललाई २०८० मङसिर महिनामा दिएका १५ वटा भारतीय मुर्रा राँगामध्ये तीन वटा राँगा नेपालगन्ज कार्यालयमा राखिएका छन् ।
सात वटा पोखरा र पाँच वटा लाहानका कार्यालयमा रहेका छन् । भारतीय मुर्रा राँगा ल्याइसकेपछि २०८० चैत महिनादेखि वीर्य सङ्कलन र उत्पादन सुरु गरिएको थियो । तीनमध्ये हाल दुई वटा राँगाबाट वीर्य सङ्कलन र उत्पादन भइरहेको छ । सङ्कलन र उत्पादन गरिएका वीर्यबाट कृत्रिम गर्भाधान गराएको भैँसीबाट पाडा उत्पादन पनि भइसकेको छ ।
कार्यालयमा ल्याइएका भारतीय राँगाको वीर्यबाट भैँसीलाई कृत्रिम गर्भाधान गराएर गत वर्ष खजुरा गाउँपालिका–२ ‘एलगाउँ’का किसान बमराज रेग्मीले पालेको भैँसीले पाडाको जन्म दिएको थियो । जुन नेपालमा ल्याइएका १५ वटै राँगाका वीर्यमध्येबाट पहिलो उत्पादन थियो । तीन वर्षअघिदेखि भारतीय राँगाबाट वीर्य सङ्कलन र उत्पादन सुरु भएपछि हालसम्म ३५ हजार ७२७ डोज जमेको वीर्य उत्पादन भएको छ भने २९ हजार ६३८ डोज वीर्य वितरण गरिएको छ ।
एक लाख ९० हजार डोज वीर्य उत्पादन
कार्यालयबाट गत आव २०८२–८३ मा एक लाख ९० हजार ४१५ डोज जमेको वीर्य उत्पादन भएको छ । पशु विकास अधिकृत डा.मिलनकुमार चौधरीका अनुसार जर्सी साँढेबाट २९ हजार २१० डोज र होलिस्टिनबाट ४५ हजार ९०२ गरी ७५ हजार ११२ डोज साँढको वीर्य, नेपालगन्ज मुर्राबाट ८४ हजार २१ डोज, भारतीय मुर्राबाट २१ हजार १६५ डोज र गड्डीबाट ४ हजार ५३७ गरी १ लाख ९ हजार ७२३ डोज राँगाको र ५ हजार ५८० डोज वोयर बोकाबाट गरी जम्मा १ लाख ९० हजार ४१५ डोज जमेको वीर्य (सिमेन) उत्पादन भएको छ ।
गत आवमा साँढे, राँगो र बोकाबाट उत्पादन गरिएका ७० हजार ६५९ डोज वीर्य वितरण गरिएको चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार जर्सीको २८ हजार ५६३ डोज, होलिस्टिनको १० हजार ७९६ डोज र साइवालको ९६३ डोज र गीरको दुई ६८२ गरी साँढेको जम्मा ४३ हजार तीन डोज वीर्य वितरण गरिएको छ ।
त्यसैगरी नेपालगन्ज मुर्राको २९५ डोज र भारतीय मुर्राको २५ हजार ५६५ डोज र गड्डीको ५० गरी २५ हजार ९१० डोज राँगाको वीर्य वितरण भएको छ । वोयर बोकाबाट १ हजार ३४६ डोज वीर्य र सेक्स सिमेन ४ सय डोज वितरण गरिएको उनले बताए । कार्यालयबाट उत्पादन गरिएका वीर्यहरु माग अनुसार पोखरा र लहान कार्यालयमा पठाइने र यहाँ उत्पादन नहुने वीर्य मागअनुसार यहाँ ल्याइने गरिएको कार्यालयले जनाएको छ ।
गत वर्ष नेपालगन्ज कार्यालयबाट पाँच हजार डोज वोयर बोकाको वीर्य लाहान र २१ हजार डोज मुर्राको वीर्य पोखरा कार्यालयमा पठाइएको थियो । त्यसैगरी ५०० डोज सेक्स सिमेन पोखराबाट र एक हजार साइवाल र तीन हजार गीर गरी चार हजार डोज साँढेको वीर्य लाहानबाट नेपालगन्ज कार्यालयमा ल्याइएको थियो ।
कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले कार्यालयले तरल नाइट्रोजन बिक्री, वीर्य बिक्री, घाँसको बिउ बिक्री, घाँस बिक्री तथा अन्य प्रशासनिक शुल्क र विविध सेवा प्रवाह गरेवापत गत आवमा ७९ लाख ८२ हजार ७६२ रूपियाँ राजस्व सङ्कलन गरेको जानकारी दिए । उनले गत आवमा ५४ हजार ८७७ वटा पशु चौपायालाई कृत्रिम गर्भाधान गराइएको बताए ।
उनका अनुसार ३२ हजार २८९ वटा गाई, २२ हजार २३ भैँसी र ५६५ बाख्रालाई कृृत्रिम गर्भाधान गराइएको हो । कृत्रिम गर्भाधानका लागि वीर्य (सिमेन) उत्पादन गर्न कार्यालयमा १२ वटा मुर्रा राँगा, आठ वटा साँढे र छ वटा बोका र दुई वटा बाख्रा राखिएको उनले जानकारी दिए । उनका अनुसार कार्यालयले कृत्रिम गर्भाधान मात्र नभएर प्राकृतिक गर्भाधान समेत गराउँदै आएको छ । प्राकृतिक गर्भाधानका लागि तीन वटा राँगो, दुई वटा साँढे, एउटा बोका र एउटा बाख्रा राखिएको छ ।
गत वर्ष १९१ वटा गाई, ३९८ भैँसी र १२७ बाख्रा गरी ७१६ वटा पशु चौपायालाई प्राकृतिक गर्भाधान गराइएको छ । कार्यालयबाट तरल नाइट्रोजन प्रतिलिटर ५० रुपैयाँ, जमेको वीर्य स्वदेशी–विदेशी प्रतिस्ट्र ५० रुपैयाँ, प्राकृतिक गर्भाधान गाई प्रतिसङ्ख्या २०० रुपैयाँ, भैँसी २०० रुपैयाँ र बाख्राको ५० रुपैयाँ शुल्क तोकिएको उनले जानकारी दिए ।
कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा.खिमानन्द खनालले २०३६ सालमा भैँसी फाराम (बुल सेन्टर)का रूपमा स्थापना भएपश्चात् विभिन्न चरण हुँदै २०६० सालमा चरन तथा घाँसेबाली बिउ वृद्धि फार्ममा रुपान्तरण भएको, २०४२ सालमा पशु प्रजनन कार्यालयको नाममा स्थापना भएको र देशमा संघीयता कार्यान्वयनसँगै २०७५ सालमा राष्ट्रिय पशु प्रजनन कार्यालयको नामबाट सेवा प्रदान गरिरहेको बताए । उनले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र पूर्वी रुकुम गरी २५ जिल्लामा सेवा प्रवाह भइरहेको बताए ।
२०७८ सालदेखि जमेको वीर्य उत्पादन सुरु गरेको कार्यालयले हालसम्म चार लाख ६६ हजार ५३१ डोज वीर्य उत्पादन गरेको छ । आव २०७८–०७९ मा सात हजार ५७१, २०७९–०८० मा ४२ हजार ९४९, २०८०–०८१ मा एक लाख २० हजार २४५, २०८१–०८२ मा एक लाख ५ हजार ३५१ र गत आवमा एक लाख ९० हजार ४१५ डोज वीर्य उत्पादन भएको छ । गत आवमा ७९ दशमलव ०१ प्रतिशत वित्तीय र ९३ दशमलव ९२ प्रतिशत भारित प्रगति भएको कार्यालयले जनाएको छ ।

