२०८३ साउन ५ , मंगलबार 21, July 2026, Tuesday

मानव-वन्यजन्तु द्वन्द्व नियन्त्रण गर्न ‘साइरन’

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ साउन ५ गते मंगलबार

बाँकेको राप्तीसोनारी गाउँपालिका–९ बुचापुरकी शान्ति चौधरीका लागि केही समयअघिसम्म साँझ परेपछि डर सुरु हुन्थ्यो । राति कतिबेला जङ्गली हात्ती बस्ती पस्छ भन्ने टुङ्गो हुँदैनथ्यो । हात्तीले घर, अन्नबाली र खेतबारीमा क्षति पुर्याउने मात्र होइन; मानवीय जोखिमसमेत उत्तिकै रहन्थ्यो ।

हात्ती आएको थाहा पाउँदा पनि धेरै जसो अवस्थामा ढिलो भइसकेको हुन्थ्यो । गाउँघरमा कतिपय मानिसलाई हात्तीले लखेटेको थियो, कतिलाई घाइतेसमेत बनाएको थियो । यी सबै घटनाका साक्षी शान्ति अहिले भने शान्तिको सास फेर्न पाएकी छन् । केही समययता सो गाउँको अवस्था फेरिएको छ ।

हात्ती बस्ती पस्न थाल्गदा गाउँनजिकै जडान गरिएको पूर्वसूचना प्रणालीबाट ठुलो आवाज (साइरन) बज्नासाथ शान्तिसंगै अरू स्थानीय पनि सचेत हुने गरेका छन् । एकजुट भएर हात्तीलाई सुरक्षित रूपमा बस्तीबाहिर फर्काउने प्रयास गर्छन् ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दाले बर्सौंदेखि जङ्गली हात्तीको आक्रमणबाट मानवीय तथा अन्नबालीको क्षति बेहोर्दै आएका थिए । निकुञ्जसँग जोडिएका ओभरी, च्यामा, गोभारपुर र बुचापुर क्षेत्रमा हात्ती–मानव द्वन्द्व बारम्बार दोहोरिने समस्या थियो ।

यिनै समस्या न्यूनीकरण गर्न जेडएसएल नेपालले पूर्वसूचनामा आधारित ‘सेन्सर साइरन’ जडान गरेपछि स्थानीयको दैनिकीमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ । जेडएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीका अनुसार यो प्रणालीले हात्ती बस्तीतर्फ प्रवेश गर्नासाथ साइरनमार्फत स्थानीयलाई समयमै सूचना दिन्छ ।

साइरन बजेपछि नागरिक सचेत हुने मात्र होइन, हात्ती धपाउन सुरक्षित रूपमा एकजुट हुन पनि सहज भएको छ । उनका अनुसार जेडएसएल नेपालले आफ्ना विभिन्न परियोजनामार्फत चार वटा स्थानमा पूर्वसूचनामा आधारित मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यसले विशेष गरी मानव–हात्ती द्वन्द्व कम गर्न सहयोग पुर्याइरहेको छ । बुचापुर हात्तीसार केन्द्रका शालिग्राम यादवका अनुसार गाउँमा हात्ती पस्ने बित्तिकै साइरन बज्ने भएकाले स्थानीयले समयमै जानकारी पाउने र आवश्यक सतर्कता अपनाउने गरेका छन् । यसले मानवीय क्षति हुन नदिन महìवपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

स्थानीय राधिका सुनार पनि साइरन जडान भएपछि आफूहरू धेरै ढुक्क भएको बताउँछिन् । उनका अनुसार पहिले हात्ती कहिलेदेखि बस्तीमा पस्यो भन्ने जानकारी नहुँदा घर, अन्नबाली र अन्य सम्पत्तिमा ठुलो क्षति पुग्थ्यो । अहिले भने साइरनले समयमै सूचना दिने भएकाले स्थानीय सचेत हुने, हात्तीबाट हुने क्षति कम गर्ने र आफ्ना परिवारलाई सुरक्षित राख्न सहज भएको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा २५ भन्दा बढी जङ्गली हात्ती रहेको बताइन्छ । बस्ती सुरक्षित बनाउन तारबार गरिए पनि जङ्गलमा पर्याप्त आहारा नपुग्दा हात्ती बेला बेला बस्तीमा प्रवेश गर्ने गरेका छन् । यस्तो अवस्थामा पूर्वसूचनामा आधारित साइरनले स्थानीयलाई समयमै सचेत गराएर सम्भावित दुर्घटना टार्न सहयोग पुर्याइरहेको छ ।

प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार