पर्याप्त वर्षा नहुँदा र सिँचाइ सुविधा सबै क्षेत्रमा नपुग्दा लुम्बिनी प्रदेशमा यस वर्ष धान रोपाइँ अपेक्षाभन्दा सुस्त बनेको छ । प्रदेशभर साउन १ गतेसम्म कुल खेतीयोग्य धान क्षेत्रफलको ८०.६४ प्रतिशतमा मात्रै रोपाइँ सम्पन्न भएको छ भने करिब २० प्रतिशत खेत अझै बाँझै छ ।
लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालयका अनुसार प्रदेशमा यस वर्ष तीन लाख एक हजार ३७२ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य रहेकामा हालसम्म दुई लाख ४३ हजार ४१ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ ।
निर्देशनालयका सूचना अधिकारी तथा वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेका अनुसार समयमै मनसुन सक्रिय नहुँदा आकासे पानीमा निर्भर किसानले रोपाइँ सार्न बाध्य छन् । उनले सिँचाइ सुविधा उपलब्ध भएका तथा पर्याप्त वर्षा भएका क्षेत्रमा भने रोपाइँ उल्लेख्य रूपमा अघि बढेको बताए ।
‘जहाँ कुलो र सिँचाइ प्रणाली प्रभावकारी छन्, त्यहाँ रोपाइँ लगभग सम्पन्न भइसकेको छ,’ गैरेले भने, ‘तर, वर्षामा निर्भर क्षेत्रमा पानीको अभावले रोपाइँ ढिलो भएको छ ।’ जिल्लागत तथ्याङ्कले पनि सिँचाइको उपलब्धताले रोपाइँको गतिमा प्रत्यक्ष प्रभाव पारेको देखाउँछ ।
पश्चिम नवलपरासीमा ९७.५ प्रतिशत, रुकुमपूर्व र प्युठानमा समान ९६ प्रतिशत, रुपन्देही र बर्दियामा समान ९५ प्रतिशत तथा रोल्पामा शतप्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । यता, कपिलवस्तु र बाँकेमा भने रोपाइँको गति सबैभन्दा सुस्त देखिएको छ ।
यी दुवै जिल्लामा हालसम्म ६० प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । दाङमा ७७ प्रतिशत, गुल्मीमा ७६ प्रतिशत, पाल्पामा ८५ प्रतिशत र अर्घाखाँचीमा ८० प्रतिशत रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ । क्षेत्रफलका आधारमा रुपन्देहीमा ६३ हजार ५५० हेक्टरमध्ये ६० हजार ३७३ हेक्टरमा धान रोपिएको छ ।
कपिलवस्तुमा ६६ हजार २६५ हेक्टरमध्ये ४० हजार २६९ हेक्टर, दाङमा ३६ हजार २०० हेक्टरमध्ये २७ हजार ८७४ हेक्टर तथा बाँकेमा ३३ हजार ७८० हेक्टरमध्ये २० हजार २६८ हेक्टर, पश्चिम नवलपरासीमा २० हजार ८८७ हेक्टरमध्ये २० हजार ३६३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।
त्यसैगरी बर्दियामा ५० हजार १५० हेक्टरमध्ये ४७ हजार ६४३ हेक्टर, पाल्पामा सात हजार २८७ हेक्टरमध्ये छ हजार १९४ हेक्टर, गुल्मीमा छ हजार ५४१ हेक्टरमध्ये चार हजार ९७१ हेक्टर र अर्घाखाँचीमा छ हजार ७६० हेक्टरमध्ये पाँच हजार ४०८ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।
रोल्पामा तीन हजार ७३ हेक्टरको सम्पूर्ण क्षेत्रफलमा रोपाइँ सकिएको छ भने प्युठानमा छ हजार ५२५ हेक्टरमध्ये छ हजार २६४ हेक्टर र रुकुमपूर्वमा ३५४ हेक्टरमध्ये ३४० हेक्टरमा रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।
सत्यपाटी