२०८३ साउन ५ , मंगलबार 21, July 2026, Tuesday

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ साउन ५ गते मंगलबार

बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण करिब छ वर्षदेखि अलपत्र परेको उक्त भवनको निर्माण हालै सम्पन्न भई सञ्चालनमा आएको हो ।

विसं २०७९ मा सम्पन्न हुनुपर्ने भवनको केही काम भने अझै बाँकी रहेकाले तीन तलाको सो भवन अहिले आंशिक रुपमा मात्रै सञ्चालनमा आएको र पूर्ण रुपमा सञ्चालनमा आउन अझै दुई महिना लाग्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले निर्माणाधीन अवस्थामा रहेको गाउँपालिकाको नयाँ प्रमुख प्रशासनिक भवन निर्माण सम्पन्न भई उद्घाटनसमेत भएपछि सोही भवनबाट सेवा दिन थालिएको उनले जानकारी दिए ।

उनले नयाँ भवनबाट सेवा सञ्चालनमा आएपछि कर्मचारीलाई नियमित कार्य सञ्चालन गर्न र सेवाग्राहीलाई सेवा लिन सहज भएको बताए । नेपाल सरकारले अघि सारेको सेवा प्रवाहमा सुधार, डिजिटल प्रशासन र नागरिकमैत्री सार्वजनिक सेवाको अवधारणा अनुसार काम गर्न नयाँ भवन प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले आफूले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको ११ महिनाको अवधिमा १५ शैय्याको अत्याधुनिक अस्पताल भवन र नयाँ प्रशासनिक भवन सञ्चालनमा ल्याउन पाएकोमा खुसी व्यक्त गरे ।

गाउँपालिकाको नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै अध्यक्ष छब्बन खाँले अबदेखि नागरिकले आधुनिक, व्यवस्थित र नागरिकमैत्री वातावरणमा एउटै छानामुनिबाट सबै सेवा प्राप्त गर्ने बताए । उनले गाउँमै सिंहदरबारको अनुभूति दिलाउने प्रतिबद्धता पुरा भएको बताए ।

अध्यक्ष खाँले भने, ‘स्थानीय तह बलियो भए मात्रै सङ्घीय शासन व्यवस्थाको उद्देश्य पूरा हुन्छ ।’ नयाँ प्रशासनिक भवनले गाउँपालिकाको सेवा प्रवाहलाई अझ व्यवस्थित, छिटो, पारदर्शी र नागरिकमैत्री बनाउनेछ ।

गाउँपालिकाका अनुसार नयाँ भवनमा अत्याधुनिक प्रशासनिक कार्यालय, बैठक कक्ष, अभिलेख व्यवस्थापन कक्ष, सेवा केन्द्र तथा सेवाग्राहीमैत्री संरचना उपलब्ध छ । यसबाट सामाजिक सुरक्षा, प्रशासनिक सेवा, योजना सिफारिस तथा अन्य सार्वजनिक सेवा प्रभावकारी रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।

वडा नं ६ का अध्यक्ष जगदीशप्रसाद हरिजनले नयाँ प्रशासनिक भवनले स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ बलियो बनाउने विश्वास व्यक्त गरे । स्थानीय नागरिक मोहम्मद अहमद राईले विगतमा भवन अभावका कारण सेवाग्राहीले विभिन्न कार्यालय धाउनुपर्ने अवस्था रहेको स्मरण गर्दै अब सबै सेवा एउटै भवनबाट उपलब्ध हुने भएकाले थप सहज हुने उल्लेख गरे ।

गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीका अनुसार चार करोड २२ लाख ८४ हजार ७१० रुपैयाँ ४२ पैसा लागतमा थेगिम–श्रीकृष्ण–निशान जेभी (कोहलपुर–११)ले भवन निर्माण गरेको हो ।

प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार