२०८३ भदौ ९ , मंगलबार 26, August 2026, Wednesday

नेपालगन्जका मूल सडकमै बसपार्क, आवागमनमा समस्या

नेपालगन्जबाट बर्दिया हुँदै सुदूरपश्चिम प्रदेश जाने विभिन्न साना–ठुला सवारी साधनहरुले नेपालगन्जको धम्बोझी चोकदेखि पश्चिमको हुलाकी राजमार्गलाई नै बसपार्क बनाएका छन् । मुख्य राजमार्गलाई नै बसपार्क बनाइएपछि खजुरारोड भएर यात्रा गर्ने नीजि सवारी साधन तथा यात्रुहरुले दिनदिनै हैरानी ब्यहोर्न बाध्य भएका छन् ।

नेपालगन्जमा सुबिधासम्पन्न बसपार्क सञ्चालनमा रहे पनि त्यहाँबाट निकै कम संख्यामा यातायात सञ्चालन हुने गरेका छन् । पश्चिम रुटका साना र मझौला सवारी साधनहरुले बनाएको बसपार्क जिल्ला प्रहरी कार्यालय बाँकेतर्फ जाने मुख्य सडकमै छ । हरेक दिन धम्बोझी चोकदेखि पश्चिमतर्फको सडकमा नै ट्राफिक अस्तब्यस्त हुनेगरी सवारीसाधन पार्किङ गरेर यात्रु बसाल्दा र झार्दा पनि त्यस प्रहरी मुकदर्शक बनेको स्थानीयले जनाएका छन् ।

नेपालगन्जका व्यवसायी कृष्णप्रसाद श्रेष्ठले धम्बोझी चोक नजिकको मुख्य बाटो र वाटरपार्कको गेट अगाडिको मुख्य सडकमै बसपार्क बनाएर यात्रु बसाल्दा र झार्दा समेत कसैलाई कुनै सरोकार नभएको बताए । उनले प्रहरी हस्तक्षेप हुँदा केही दिन हटाइए पनि फेरि त्यही ठाउँमा बसपार्क सञ्चालन गर्ने गरिएको पाइएको बताए । उनका अनुसार खुला रुपमा सडकमै बसपार्क बनाउँदा पनि केही एक्सन नहुनु दुखद कुरा हो ।

नेपालगन्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज बसपार्क बाहेक अन्यत्र कहिँकतै बसपार्क सञ्चालनको स्वीकृति नदिएको बताए । उनले यात्रु चढाउन र झार्नका लागि पाँच मिनेट सवारी रोक्न दिने गरी सहमति दिए पनि बसपार्ककै रुपमा सञ्चालन गर्न बसपार्क बाहेक अन्यत्र स्वीकृति नदिएको प्रष्ट पारे । नगर प्रमुख विष्टले अनाधिकृत रुपमा सडकमै बनाइएका बसपार्कलाई हटाएर वास्तविक बसपार्कबाट मात्र सवारी सञ्चालन गर्न लगाउन सुरक्षा निकायसँग आग्रह गरे ।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार