राप्तीसोनारी गाउँपालिका–९ बुचापुरकी शान्ति चौधरीलाई केही समयअघिसम्म साँझ परेसँगै डर सुरु हुन्थ्यो । राति कतिबेला जङ्गली हात्ती बस्ती पस्छ भन्ने टुङ्गो हुँदैनथ्यो । हात्तीले घर, अन्नबाली र खेतबारीमा क्षति पुर्याउने मात्र होइन, मानवीय जोखिमसमेत उत्तिकै रहन्थ्यो ।
हात्ती आएको थाहा पाउँदा पनि धेरैजसो अवस्थामा ढिलो भइसकेको हुन्थ्यो । तर अहिले अवस्था फेरिएको छ । बस्ती नजिकै जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरन बज्नासाथ शान्तिसँगै अरु स्थानीय पनि सचेत हुन्छन्, एकजुट भएर हात्तीलाई सुरक्षित रूपमा बस्तीबाहिर फर्काउने प्रयास गर्छन् ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले वर्षौंदेखि जङ्गली हात्तीको आक्रमणबाट मानवीय तथा अन्नबालीको क्षति बेहोर्दै आएका थिए । निकुञ्जसँग जोडिएका ओभरी, च्यामा, गोभारपुर र बुचापुर क्षेत्रमा हात्ती–मानव द्वन्द्व बारम्बार दोहोरिने समस्या थियो ।
यिनै समस्यालाई न्यूनीकरण गर्न जेडएसएल नेपालले पूर्वसूचनामा आधारित आधुनिक सेन्सर साइरन जडान गरेपछि स्थानीयको दैनिकीमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ । जेडएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीका अनुसार यो प्रणालीले हात्ती बस्तीतर्फ प्रवेश गर्नासाथ साइरनमार्फत स्थानीयलाई समयमै सूचना दिन्छ ।
साइरन बजेपछि नागरिक सचेत हुने मात्र होइन, हात्ती धपाउन सुरक्षित रूपमा एकजुट हुन पनि सहज भएको छ । उनका अनुसार जेडिएसएल नेपालले आफ्ना विभिन्न परियोजनामार्फत चारवटा स्थानमा पूर्वसूचनामा आधारित मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिरहेको छ, जसले विशेषगरी मानव–हात्ती द्वन्द्व कम गर्न सहयोग पुर्याइरहेको छ ।
बुचापुर हात्तीसार केन्द्रका शालिग्राम यादवका अनुसार गाउँमा हात्ती पस्नेबित्तिकै साइरन बज्ने भएकाले स्थानीयले समयमै जानकारी पाउने र आवश्यक सतर्कता अपनाउने गरेका छन् । यसले मानवीय क्षति हुन नदिन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । स्थानीय राधिका सुनार पनि साइरन जडान भएपछि आफूहरू धेरै ढुक्क भएको बताउँछिन् ।
उहाँका अनुसार पहिले हात्ती कहिलेदेखि बस्तीमा पस्यो भन्ने जानकारी नहुँदा घर, अन्नबाली र अन्य सम्पत्तिमा ठूलो क्षति पुग्थ्यो । अहिले भने साइरनले समयमै सूचना दिने भएकाले स्थानीय सचेत हुने, हात्तीबाट हुने क्षति कम गर्ने र आफ्ना परिवारलाई सुरक्षित राख्न सहज भएको छ ।
बाँके राष्ट्रिय निकुञ्जमा २५ भन्दा बढी जङ्गली हात्ती रहेको बताइन्छ । बस्ती सुरक्षित बनाउन तारबार गरिए पनि जङ्गलमा पर्याप्त आहारा नपुग्दा हात्तीहरू बेला–बेलामा बस्तीमा प्रवेश गर्ने गरेका छन् ।
यस्तो अवस्थामा पूर्वसूचनामा आधारित साइरनले स्थानीयलाई समयमै सचेत गराएर सम्भावित दुर्घटना टार्न सहयोग पुर्याइरहेको छ । हात्ती बस्तीमा प्रवेश गर्नुअघि नै सूचना पाउने व्यवस्था जोखिम घट्नुका साथै मानव–हात्ती द्वन्द्वलाई व्यवस्थापन गर्ने नयाँ अभ्यास स्थापित हुँदै गएको छ ।
सत्यपाटी