हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शनिबार एक सूचना जारी गर्दै आज आइतबार मनसुन थप सक्रिय भई ठुलो वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । त्यस्तै अहिले देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ ।
उल्लिखित दुई दिन भीषण वर्षा हुने भएकाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्नका निम्ति सबै नागरिकलाई सतर्क रहन मौसम महाशाखाले सुझाव दिएको छ । मौसम महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तर–पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय हुने सम्भावना देखिएको हो ।
सूचनामा भनिएको छ, ‘आइतबार मनसुनी गतिविधि बढ्न गई देशको कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू–भाग तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागको एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ ।’
भारी वर्षाको कारण ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
आज राति देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेश र बागमती प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सत्यपाटी