जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षाको चेतावनी दिएका छन् ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र नदीमा पानीको सतह बढ्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण मनसुन थप सक्रिय हुने विभागको भनाइ छ । विभागका अनुसार आज र आइतबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ ।
हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा मधेश, बागमती र गण्डकीका तराईका एक–दुई स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना छ ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका एक–दुई स्थानमा अत्यधिक वर्षा हुन सक्ने विभागले जनाएको छ । विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा उल्लेख्य वर्षा भएको छ । विभागका अनुसार मेलम्ची वर्षामापन केन्द्रमा १०५.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।
प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भन्दै अत्यावश्यक कामबाहेक रातिको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । जोखिमयुक्त जिल्लामा रातिको सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन तथा आवश्यक परे रोक्न पनि सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
विशेषगरी पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन भनिएको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिँदै जोखिमयुक्त सडकमा डोजर, एक्साभेटर र लोडर तयारी अवस्थामा राख्न तथा आवश्यक परे जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको बताइन् ।
विभागका प्रवक्ता विभूति पोखरेलले पनि हवाई, पर्यटन, कृषि र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले मौसमको अद्यावधिक जानकारी लिएर मात्रै यात्रा र अन्य गतिविधि सञ्चालन गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरिन् ।
सत्यपाटी