केही वर्षअघिसम्म बाँकेको अत्यधिक दुर्गम मानिने तथा स्वास्थ्य सेवाको अति नै न्यून पहुँचमा रहेको नरैनापुर गाउँपालिकामा वर्थिङ सेन्टर मार्फत सुत्केरी सेवा लिने महिलाको सङ्ख्या बढ्दै गएको छ । केही समयअघिसम्म घरमै सुत्केरी गराउने महिला अहिले गाउँमै स्थापना गरिएका वर्थिङ सेन्टरमा पुगेर सुत्केरी गराउन थालेको गाउँपालिकाले जनाएको छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले केही वर्ष पहिलेसम्म नरैनापुर गाउँपालिकाभित्रका अधिकांश महिलाले घरमै सुत्केरी गराउँदै आएको र अस्पताल जानुपर्दा सीमापारि भारतका अस्पताल वा नेपालगन्जस्थित भेरी अस्पताल लगायतमा पुग्नुपर्ने बाध्यता रहेकोमा अहिले अवस्था फेरिएको बताए ।
उनले गणतन्त्र स्थापनापछि दुर्गम र पिछडिएको नरैनापुरमा कालोपत्रे सडक र विद्युतसँगै स्वास्थ्य सेवाको पहुँच पनि बढेर वर्थिङ सेन्टरहरू सञ्चालन गरिएपछि महिला ती सेन्टरमा पुग्न थालेको बताए । केही वर्षअघिसम्म एम्बुलेन्ससमेत नरहेको पालिकामा अहिले विभिन्न वडामा स्वास्थ्य केन्द्र तथा वर्थिङ सेन्टर सञ्चालनमा आएका छन् ।
अध्यक्ष शाहले भने, ‘कुनै बेला प्रसूति सेवाका लागि करिब ५० किलोमिटर टाढा नेपालगन्जका अस्पताल पुग्नुपर्ने बाध्यता थियो तर अहिले त वडा वडामै सञ्चालन गरिएका वर्थिङ सेन्टरमा सुत्केरी गराउनेहरूको सङ्ख्या बढ्दैछ ।’ नरैनापुर गाउँपालिकामा सञ्चालनमा ल्याइएका वर्थिङ सेन्टरमार्फत चालु आर्थिक वर्ष २०८२–०८३ मा एक हजार १५१ जना महिलाले सुरक्षित सुत्केरी सेवा पाएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१–०८२ मा एक हजार १२३ जना महिलाले सुरक्षित सुत्केरी सेवा लिएकोमा चालु आर्थिक वर्षमा सो सङ्ख्यामा वृद्धि भएको हो । स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहले घरमै अधिकांश सुत्केरी गराउने र अस्पताल जान नमान्नेहरूले पछिल्लो समय धमाधम वर्थिङ सेन्टरमा पुगेर सेवा लिन थालेको बताए ।
उनले नरैनापुरको वडा नम्बर १ देखि ६ सम्मका वर्थिङ सेन्टरमा चौबीसै घण्टा सञ्चालन भइरहेको प्रसूति सेवाबाट सो क्षेत्रका महिला लाभान्वित भइरहेको जनाए । स्वास्थ्य शाखा प्रमुख शाहका अनुसार प्रशिक्षित जनशक्ति र निःशुल्क एम्बुलेन्स सेवामार्फत सुरक्षित सुत्केरी सेवा दिइँदै आएको छ । उनले भने, ‘तालिमप्राप्त जनशक्तिबाट चौबीसै घण्टा प्रसूति सेवा दिइँदै आएको छ, वर्थिङ सेन्टरसम्म ल्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौँ ।’
नरैनापुरमा चालु आवमा वडा नम्बर १ मा १८६, वडा नम्बर २ मा १७४, वडा नम्बर ३ मा १०१, वडा नम्बर ४ मा २५४, वडा नम्बर ५ मा २८६ र वडा नम्बर ६ मा १५३ जना महिलाले सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष शाहले सुत्केरी महिलालाई कुनै समस्या परेमा तत्काल भेरी अस्पतालमा निःशुल्क उपचार गराउने र ल्याउने–लैजाने व्यवस्था पनि मिलाइएको बताए ।
सत्यपाटी