बाँके जिल्लामा हालसम्म ६० प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । गत वर्ष यो समयसम्म जिल्लामा ७२ प्रतिशत रोपाइँ भएको थियो । कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतले पछिल्लो समयमा राम्रो बर्षा भएपछि रोपाइँ बढेकाले हालसम्म जिल्लामा ६० प्रतिशत धान रोपाइँ भएको जनाए ।
गत वर्ष यति बेलासम्म ७२ प्रतिशतभन्दा बढी रोपाइँ भएको जनाउँदै उनले यस पटक बर्षा ढिलो सुरु भएकाले कम भएको बताए । कृषि प्राविधिक अधिकृत बस्नेतले असार १५ गते धान दिवस मनाइरहँदा ०.५ प्रतिशत मात्र रोपाइँ भएको यो जिल्लामा पछिल्लो १५ दिनमा तीव्र गतिमा रोपाइँ भएर ६० प्रतिशत पुगेको बताए ।
नरैनापुर क्षेत्रमा सबैभन्दा कम रोपाइँ भएको जानकारी आएको जनाउँदै उनले नरैनापुरमा हालसम्म २५ प्रतिशत मात्र रोपाइँ भएको जानकारी आएको बताए । बर्षा ढिलोगरी सुरु भएकाले नरैनापुरमा रोपाइँ कम भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार जिल्लाको सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकामा धान रोपाइँ भएको छ ।
समयमै वर्षा नहुँदा नेपालगन्ज र खजुरा क्षेत्रमा पनि धेरै रोपाइँ हुन सकेको छैन । पानीको अभावले असारको दोस्रो सातापछि सुरु गरिएको रोपाइँ विभिन्न स्थानमा जारी रहेको छ । रोपाइँ भएकामध्ये अधिकांश किसानले सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरी रोपेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शर्माका अनुसार बाँकेमा धान खेती हुने ३३ हजार ७८० हेक्टर क्षेत्रफलमध्ये हालसम्म करिब १९ हजार हेक्टरमा धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा अधिकांशले किसानले राधा चार मोटो धान र केही भारतीय हाइब्रिड जातका धानको रोपाइँ गर्दै आएका छन् । बाँकेमा कुल खेतीयोग्य ५५ हजार ८२६ हेक्टर क्षेत्रमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुँदै आएको छ ।
सत्यपाटी