डेंगु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले देशभर आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु भएको छ । सरकारले डेंगुको अत्यधिक जोखिम रहने साउन, भदौ र असोज महिनालाई लक्षित गरी यो विशेष अभियान सञ्चालनमा ल्याएको हो ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्र काट्दै यो अभियान अनिवार्य रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।
यस अभियान अन्तर्गत मन्त्रालयले प्रत्येक हप्ता ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने मुख्य नीति लिएको छ । जसअनुसार सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, विद्यालय तथा सामुदायिक संस्थाहरूमा अनिवार्य रूपमा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ ।
यस अभियान अन्तर्गत स्थानीय तहको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
स्थानीय तहहरूले कम्तीमा हप्ताको एक दिन समुदायको सक्रिय सहभागितामा ‘लामखुट्टेको प्रजनन स्थल तथा वासस्थान खोज तथा नष्ट अभियान’ चलाउने, डेंगु रोकथामका लागि बहुनिकाय समन्वय सुदृढ गर्ने तथा अटो वर्कसप, ग्यारेज, कवाडी सामान व्यवस्थापन स्थल र निर्माणाधीन भवन जस्ता पानी जम्ने सम्भावना भएका स्थानहरूको नियमित अनुगमन गरी पानीको निकास र व्यवस्थापन गर्न आह्वान गरिएको छ ।
सत्यपाटी