२०८३ भदौ १० , बुधबार 27, August 2026, Thursday

बाँकेमा सात हजार ६५४ मेट्रिक टन मल बाँडियो

बाँकेका सबै स्थानीय तहमा कोटा प्रणाली अनुसार चालु आर्थिक वर्ष २०८२–०८३ को हालसम्म सात हजार ६५४.७ मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ । वितरण गरिएको रासायनिक मलमध्ये सबैभन्दा बढी युरिया चार हजार ८१९.६, डिएपी २ हजार ६२८.४५० र पोटास २०६.६५० मेट्रिक टन रहेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले कम्पनीमा अझै ३५६ दशमलव १०० युरिया, १०५ दशमलव ६५० डिएपी र १४ दशमलव ८३० मेट्रिक टन पोटास मौज्दात रहेको जानकारी दिए । बाँकेमा सबैभन्दा बढी मलको माग राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम कोहलपुर नगरपालिका तथा नरैनापुर गाउँपालिकामा रहेको प्रमुख श्रेष्ठले बताए ।

प्रमुख श्रेष्ठका अनुसार धानको रोपाइँ सकिएको करिब २५ दिनमा युरिया मल छर्ने गरिए पनि किसानले पछि नपाइने चिन्ताले अहिले नै माग गरिरहेका छन् । किसानहरु मल वितरण हुने ठाउँमा एकैपटक पुग्दा समस्याजस्तो देखिए पनि अभाव नभएको कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जको दाबी छ ।

‘किसानले युरिया खेतीमा प्रयोग गर्नेबेला अहिले भएको छैन, धेरै ठाउँमा रोपाइ नै भएको छैन । पछि नपाउने डरले सबैभन्दा बढी माग युरियाकै आइरहेको छ,’ प्रमुख श्रेष्ठले भने, ‘रासायनिक मल आउने क्रम जारी रहेको र साउन महिनाभरि वितरण हुनेछ ।’ उनले यस वर्ष रोपाइँको सिजनमा भदौसम्मका लागि अझै पनि चार हजार मेट्रिक टन युरिया, दुई हजार ५०० मेट्रिक टन डिएपी र केही मेट्रिक टन पोटासको माग भएको बताए ।

जिल्लाका आठ स्थानीय तहमै कृषि सहकारीमार्फत रासायनिक मलको वितरण भइरहेको कम्पनीले जनाएको छ । बाँकेमा असारसम्म ४४ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । गत वर्ष यो अवधिमा ६० प्रतिशत रोपाइँ भएको थियो । केन्द्रका अनुसार पछिल्ला दिनमा भएको वर्षा र सिक्टा सिँचाइ आयोजनाको पानीका कारण रोपाइँले गति लिएको छ ।

केन्द्रका सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार जिल्लाको कुल ५५ हजार ८२६ हेक्टर खेती योग्य क्षेत्रफलमध्ये ३३ हजार ७८० हेक्टरमा धान खेती हुने गरेको छ । धान खेती हुनेमध्ये हालसम्म १४ हजार ८६३.२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । ज्ञान केन्द्रका अनुसार बाँकेमा अधिकांश किसानले राधा–४ लगायतका मोटो धान र केही भारतीय हाइब्रिड जातका धान लगाउँदै आएका छन् ।

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रबार