सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान र धार्मिक अनुष्ठानका साथ मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा रहेको छ । साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ ।
माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ । अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन् । यस क्रममा हिलोमैलोका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बच्न ‘लुतो फाल्ने’ परम्परा रहेको संस्कृतिविद् प्रा.डा.देवमणि भट्टराई बताउँछन् ।
परम्परा अनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती लगायत औषधीय गुण भएका वनस्पति राखी कण्डारक नामक राक्षसको पूजा गरेर अगुल्टो फाल्ने चलन छ । लुतो फाल्ने क्रममा आ–आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने तथा ढोका बन्द गर्ने प्रचलन नेपाली समाजमा रहेको छ ।
साउन महिनालाई भगवान् शिवको विशेष पूजा–आराधनाको महिनाका रूपमा पनि लिइन्छ । यस अवसरमा महिलाले हरियो चुरा, पोते तथा हरियो वस्त्र धारण गरी प्रकृतिसँगको निकटता झल्काउने परम्परा रहेको छ । साथै, साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन् भने साउनभरि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
सत्यपाटी