बाँके जिल्लाका आठ वटै स्थानीय तहका ११ हजार ५६४ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको छ । जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेले दिएको जानकारी अनुसार जिल्लाका आठ वटै पालिकामा रहेका १६ देखि २३ महिनासम्मका ११ हजार ५६४ जना बालबालिकाको खोप अवस्था यकिन गरेर उनीहरूलाई पूर्ण खोप प्रदान गरिएको हो ।
जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले खोज तथा खोप अभियान सञ्चालन गरी राष्ट्रिय निर्देशिका अनुसार जिल्लाका ११ हजार ५६४ जना सबै बालबालिकालाई आवश्यक सबै खोप प्रदान गरिएको बताए ।
उनका अनुसार घरधुरी सर्वेक्षणका क्रममा बाँकेमा १६ देखि २३ महिनासम्मका ११ हजार ५६४ जना बालबालिकाको खोप अवस्था यकिन गरिएको थियो । तीमध्ये १० हजार ७९९ जना अर्थात् ९४ प्रतिशत बालबालिकाले सबै आवश्यक खोपको मात्रा प्राप्त गरेको पाइएको थियो ।
बाँकी ७६५ जना बालबालिकामध्ये १८ जना शून्य डोज र ७४७ जना ड्रपआउट बालबालिका पहिचान भएका थिए । ती सबै बालबालिकाका लागि खोज तथा खोप अभियान सञ्चालन गरी राष्ट्रिय निर्देशिका अनुसार आवश्यक खोप प्रदान गरिएको र बाँकेका आठ वटै स्थानीय तहका सबै बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउन सफल भएको स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले बताइन् ।
उनले खोपले बालबालिकालाई विभिन्न संक्रामक तथा ज्यानै जोखिममा पार्ने रोगबाट जोगाउने भएकाले सबैले समयमै आफ्ना बालबालिकालाई सबै खोप लगाउनुपर्नेमा जोड दिइन् । खोप लगाउने उमेरका कुनै पनि बालबालिका खोप बाट बन्चित हुन नपर्ने अवस्था सृजना गर्नका लागि अभिभावकको सहयोग आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत बालबालिकाहरूलाई क्षयरोग, रोटा भाइरस, पोलियो, निमोनिया, मेनिन्जाइटिस, भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, जापानिज इन्सेफालाइटिस, दादुरा, रुबेला, टाइफाइड तथा एचपिभी लगायतका १४ वटा सरुवा रोगविरुद्ध निःशुल्क खोप प्रदान गरिँदै आएको छ ।
सत्यपाटी