२०८३ असार २७ , शनिबार 11, July 2026, Saturday

नरैनापुरका एक हजार ५६ महिलालाई सुरक्षित प्रसूति सेवा

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार २७ गते शनिबार

बाँकेको नरैनापुर गाउँपालिकाले आर्थिक वर्ष २०८२–०८३ मा मातृ तथा शिशु स्वास्थ्य, पोषण तथा खोप सेवामा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । गाउँपालिका अन्तर्गत सञ्चालित ६ स्वास्थ्य संस्थामार्फत प्रदान गरिएका सेवाले मातृ तथा शिशु स्वास्थ्य सूचकमा सकारात्मक सुधार देखिएको गाउँपालिकाले जनाएको हो ।

गाउँपालिकाका स्वास्थ्य संयोजक नगेन्द्रकुमार शाहका अनुसार चालु आर्थिक वर्षमा गर्भवती महिलामध्ये ७० प्रतिशतले चार पटक गर्भजाँच (फोर एएनसी) सेवा लिएका छन् । यस अवधिमा एक हजार ५६ महिलाले स्वास्थ्य संस्थामार्फत सुरक्षित प्रसूति सेवा प्राप्त गरेका छन् भने प्रसूतिपछि चारपटक स्वास्थ्य परीक्षण (फोर पीएनसी) सेवा लिने आमाको संख्या ४१ प्रतिशत पुगेको छ ।

त्यसैगरी, नवजात शिशुलाई दिइने बीसीजी खोप शतप्रतिशत उपलब्ध गराइएको छ भने पूर्ण स्तनपान गराउने दर ६८ प्रतिशत पुगेको छ । पोषण सुधार कार्यक्रमअन्तर्गत मध्यम कुपोषण भएका ७० जना र कडा कुपोषण भएका ९४ जना बालबालिकाको उपचार सम्पन्न गरिएको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाको हालको जनसंख्या ४० हजार ५२६ रहेको छ ।

स्वास्थ्य संयोजक शाहले कुपोषण न्यूनीकरणका लागि गर्भवती तथा सुत्केरी महिलाको नियमित स्वास्थ्य परीक्षण, जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान, समयमै पोषणयुक्त पूरक आहारको सुरुवात, सन्तुलित भोजन, नियमित खोप तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए ।

आगामी दिनमा प्रयोगशाला सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा, पोषण कार्यक्रम तथा अन्य आधारभूत स्वास्थ्य सेवाको दायरा विस्तार गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले स्वास्थ्य सेवा प्रभावकारी र नागरिकमैत्री बनाउन आवश्यक जनशक्ति व्यवस्थापन, औषधिको नियमित आपूर्ति तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखिएको बताए । स्वास्थ्य क्षेत्रमा हासिल उपलब्धिलाई संस्थागत गर्दै सेवाको गुणस्तर अभिवृद्धि गर्न गाउँपालिका निरन्तर सक्रिय रहेको उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाको प्रमुख प्राथमिकताका रूपमा अघि बढाइएको उल्लेख गर्दै आगामी आर्थिक वर्षदेखि निर्माण सम्पन्न नरैनापुर अस्पताल सञ्चालनमा ल्याइने जानकारी दिए ।

अस्पताल सञ्चालनमा आएपछि स्थानीयले गाउँपालिकामै गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उनले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धिका लागि आवश्यक स्रोत, साधन र जनशक्ति व्यवस्थापनमा गाउँपालिका निरन्तर लागिरहेको बताए ।

प्रकाशित मिति : २०८३ असार २७ गते शनिबार