२०८३ भदौ १८ , बिहीबार 3, September 2026, Thursday

नौ दिनपछि चालक सुवेदीको शव भेटियो, सहचालक अझै बेपत्ता

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको संगेतरा क्षेत्रमा सवारी दुर्घटनामा परी बेपत्ता भएका चालक तुलाराम सुवेदीको शव फेला परेको छ । दुर्घटनाको नौ दिनपछि शनिबार (असार २७) बिहान करिब ७ बजे उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–८, माझीगाउँ निवासी चालक सुवेदीको शव अछामको तुर्माखाँद गाउँपालिका–२, जमगडास्थित कर्णाली नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

तुलारामका बुवाले शव बुझिसकेको उनले बताए । दुर्घटनामा बेपत्ता भएका उनका सहोदर भाइ तथा गाडीका सहचालक रामप्रसाद सुवेदीको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

यही असार १८ गते बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित सडकबाट झन्डै ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो ।

दुर्घटनाका बेला गाडीमा पाँचजना सवार थिए । उनीहरूमध्ये कालीकोटको पचालझरना गाउँपालिका–९ का ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा जीवितै फेला परेका थिए । उपचारका क्रममा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

चालक तुलाराम सुवेदीको शव फेला परेसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । अरूको शव यसअघि फरक–फरक मिति र स्थानमा भेटिएको थियो । सहचालक सुवेदी र दुर्घटनाग्रस्त गाडीको अवस्था अझै अज्ञात छ । उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २७ गते शनिबार