हिजो (बिहीबार) त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुको सोरु गाउँपालिका– १, का २५ वर्षीय गणेश नेपालीको निधन भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार नेपालीको वीर अस्पतालको बर्न सेन्टरमा उपचारको क्रममा शुक्रबार बिहान ११ः२० मा निधन भएको हो ।
वीर अस्पतालको मेकानिकल भेन्टिलेटरमा उपचाररत् नेपालीको निधन भएको औपचारिक जानकारी भने अस्पतालले दिएको छैन । उनले भने, ‘उहाँको निधन भएको डाक्टरहरुले जानकारी गराउनुभएको छ ।’
राति उनलाई भारत उपचारका लागि लाने तयारी गरिएकोमा स्वास्थ्य झन् जटिल बनेको भन्दै चिकित्सकले अस्थीर अवस्थामा नलैजान सुझाएपछि रोकिएको थियो ।
वीर अस्पतालका चिकित्सकले नेपालीको पहिलो शल्यक्रिया भए पनि अवस्थामा सुधार नआएको बताएका थिए । करिब ६० प्रतिशत शरीर जलेका नेपालीको अनुहार, टाउको, घाँटी छाती जलेकाले अवस्था क्रिटिकल भएको डाक्टरले बताएका थिए ।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह गरेका नेपालीलाई घटनालगत्तै उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो ।
सत्यपाटी