बाँकेको जानकी गाउँपालिका–५ स्थित गुरुवा गाउँको करिब एक शताब्दी पुरानो शिव मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ । जीर्ण बनेको मन्दिर वडा कार्यालयको पहलमा पुनःनिर्माण भएपछि स्थानीयवासीमा धार्मिक उत्साह र सांस्कृतिक गौरव बढेको छ ।
वडा नं.५ का अध्यक्ष टिकानाथ यादवका अनुसार प्राकृतिक प्रभावका कारण जीर्ण बनेको मन्दिरको संरक्षणका लागि वडाको मर्मत शीर्षक अन्तर्गत करिब दुई लाख रुपैयाँ बजेट विनियोजन गरी पुनःनिर्माण गरिएको हो । उनका अनुसार मन्दिर गाउँको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनको महत्वपूर्ण केन्द्र हो ।
स्थापनाकालदेखि नै मन्दिरमा हरेक शुक्रबार भजन–कीर्तन तथा महाशिवरात्रि, तीज र श्रीकृष्ण जन्माष्टमी लगायतका धार्मिक कार्यक्रम हुँदै आएका छन् । केही वर्षयता मन्दिर जीर्ण बन्दा श्रद्धालुको उपस्थिति घटेको भए पनि पुनःनिर्माणपछि धार्मिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ ।
मन्दिर नजिकै मुस्लिम समुदायको बाक्लो बसोबास तथा मस्जिद छ । फरक–फरक धर्मावलम्बी समुदायबीच लामो समयदेखि कायम रहेको आपसी सम्मान, सहकार्य र सद्भावलाई मन्दिरले थप मजबुत बनाएको वडाध्यक्ष यादवले बताए । उनका अनुसार गाउँमा हिन्दू र मुस्लिम समुदायले एकअर्काको धार्मिक आस्थाको सम्मान गर्दै सहअस्तित्वको उदाहरण प्रस्तुत गरेका छन् ।
उनले गाउँपालिका अध्यक्ष छब्बन खाँको नेतृत्वमा गाउँपालिकाभित्र रहेका मन्दिर, मस्जिद लगायत धार्मिक संरचनाको संरक्षण र निर्माणलाई समान प्राथमिकता दिइएको जानकारी दिए । स्थानीयवासीका अनुसार पुनःनिर्मित शिव मन्दिरले धार्मिक आस्था, सांस्कृतिक परम्परा, सामाजिक सद्भाव र सामुदायिक एकतालाई थप सुदृढ बनाएको छ ।
सत्यपाटी