२०८३ भदौ १७ , बुधबार 2, September 2026, Wednesday

नेपालगन्जको एचसीआरसी अस्पतालले पायो अन्तर्राष्ट्रिय आइएसओ प्रमाणीकरण

पश्चिम नेपालको स्वास्थ्य सेवामा उत्कृष्ट भूमिका निर्वाह गर्दै आइरहेको नेपालगन्जस्थित हेल्थ केयर अस्पताल तथा प्रसुति गृह (एचसीआरसी अस्पताल)ले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गरेको छ । यस उपलब्धिसँगै एचसीआरसी अस्पताल अग्रणी स्वास्थ्य संस्थाका रूपमा थप स्थापित भएको विश्वास गरिएको छ ।

गुणस्तरीय स्वास्थ्य उपचारमा अग्रणी रहेको एचसीआरसी अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर व्यवस्थापन प्रणाली अन्तर्गतको प्रमाणीकरण प्राप्त गरेको हो । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि अन्तर्राष्ट्रिय गुणस्तरको आइएसओ प्रमाणीकरण प्रदान गरिएको आइएसओका प्रमुख लेखा परीक्षक भोजराज तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार अस्पतालको व्यवस्थापन प्रणाली, कार्य प्रणाली र सेवा प्रवाहको विस्तृत मूल्याङ्कनपछि अन्तर्राष्ट्रिय गुणस्तरको आइएसओ प्रमाणीकरण प्रदान गरिएको हो । आइएसओका प्रमुख लेखा परीक्षक तिमिल्सिनाले अस्पतालका संस्थापक अध्यक्ष तथा प्रमुख डा.कुमारसान शाहलाई प्रमाणीकरणको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

यस उपलब्धीले गुणस्तरीय स्वास्थ्य सेवा, बिरामी सुरक्षाको सुनिश्चितता तथा संस्थागत व्यवस्थापनप्रति अस्पतालको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको अस्पतालले जनाएको छ । उनका अनुसार यसले सेवा गुणस्तर सुनिश्चित गर्दै निरन्तर सुधार र मानकीकृत कार्य प्रणालीप्रति अस्पतालको प्रतिबद्धता झल्काएको प्रमुख डा.शाहले बताए ।

उनले आइएसओ प्रमाणीकरणले अस्पतालको चिकित्सा सेवा, क्लिनिकल प्रशिक्षण, शिक्षण अस्पताल सेवा, निदान तथा प्रयोगशाला सेवा, रेडियोलोजी, फार्मेसी, आकस्मिक सेवा लगायतका सबै प्रमुख सेवालाई समेटेको बताए । डा.शाहले आइएसओ अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम राख्न, सेवाग्राहीको सन्तुष्टि अभिवृद्धि गर्न तथा सेवा प्रवाहलाई अझ प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अस्पतालले दक्ष जनशक्ति विकास र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा प्रणाली कार्यान्वयनमा समेत यस प्रमाणीकरणले महत्त्वपूर्ण योगदान पुर्याउने जनाएको छ । अस्पताल प्रमुख डा.शाहले आइएसओ ९००१ः२०१५ प्रमाणीकरणलाई केवल उपलब्धि नभई गुणस्तरीय सेवा, व्यवस्थित प्रणाली र निरन्तर सुधारप्रतिको प्रतिबद्धताको मापनका रूपमा लिनुपर्ने बताए ।

उनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि बिरामीलाई अझ सुरक्षित, भरपर्दो, व्यवस्थित र मर्यादित स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा उत्कृष्टता कायम राख्न निरन्तर प्रयास जारी रहनुका साथै संस्थाको गुणस्तर सुनिश्चितता, निरन्तर सुधार तथा मानकीकृत कार्य प्रणालीप्रतिको प्रतिबद्धतालाई झल्काउने बताए ।

साथै दक्ष जनशक्ति विकास तथा अन्तर्राष्ट्रिय स्तरअनुरूप सेवा प्रणाली कार्यान्वयनमा समेत यसले महत्वपूर्ण भूमिका खेल्ने अस्पतालको भनाइ छ । आइएसओ ९००१ः२०१५ प्रमाणीकरण प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा अस्पताल व्यवस्थापन, विभिन्न विभागका प्रमुख, विशेषज्ञ चिकित्सक, नर्सिङ टोली तथा अन्य कर्मचारीहरुको उपस्थिति थियो ।

‘आइएसओ ९००१ः२०१५ प्रमाणीकरण हाम्रो अस्पतालका लागि केवल उपलब्धि मात्र नभई गुणस्तरीय सेवा, व्यवस्थित प्रणाली तथा निरन्तर सुधारप्रतिको प्रतिबद्धताको प्रमाण हो,’ अस्पताल प्रमुख डा.शाहले भने । बिरामीलाई अझ सुरक्षित, व्यवस्थित तथा सम्मानजनक स्वास्थ्य सेवा प्रदान गर्न कलेज निरन्तर प्रतिबद्ध रहने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रबार