२०८३ असार २५ , बिहीबार 9, July 2026, Thursday

सात जिल्लाका नदी र खोलामा बाढीको जोखिम

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार २५ गते बिहीबार

देशका केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, सिन्धुपाल्चोक, दोलखा, भोजपुर र आसपासका जिल्ला भई बहने ससाना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्नेछ ।

यी जिल्लाका नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोसी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

मधेस, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोसी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

प्रकाशित मिति : २०८३ असार २५ गते बिहीबार