२०८३ असार २३ , मंगलबार 7, July 2026, Tuesday

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा

सत्यपाटीसत्यपाटी । बर्दिया । २०८३ असार २३ गते मंगलबार

नदी उत्खननका कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा परेको छ । प्रेमनगरकी आशा सोनाहाको कर्णाली नदी उत्खननले पेसा सङ्कटमा परेको हो । त्यसो त, उक्त बस्तीका अन्य सोनाहाको दैनिकी पनि सुन खोज्ने र माछा मारेर नै बित्ने गर्छ ।

उक्त जातिको आर्थिक स्रोत नै कर्णाली नदीमा भेटिएको सुन अनि माछा हो । ‘हाम्रो पेसा नदी किनारमा सुन खोज्ने, माछा मार्ने हो । वस्ती पनि नदी किनारमै हुन्छन् । पुर्खाले सुन खोजेर माछा मारेर जीवनयापन गरे । हामीले पनि यही काम गरेका छौँ,’ आशाले भनिन्, ‘नदीको उत्खननले पेसा सङ्कटमा पर्न थालेपछि आजभोलि ज्यालादारी काम गर्न, बाध्य छौँ ।’

उनलाई पूर्खाले गरेको काम नदी उत्खननका कारण लोप हुने त होइन भन्ने चिन्ता छ । कर्णाली नदीमा समूहमा सुन खोज्न व्यस्त सुनिता सोनाहाले ज्यालादारी गरेर भन्दा सुन खोजेर बढी आम्दानी हुने गरेको बताइन् । प्रेमनगरमा १० परिवार यही पेसामा आबद्ध छन् । सोनाहा सानो तथा सीमान्तकृत आदिवासी समुदायमध्ये एक मानिन्छ ।

कैलाली, कञ्चनपुर र बर्दिया जिल्लामा बसोबास रहेको यो सोनाहा जाति लोपोन्मुख जातिभित्र पर्छ । सङ्गीता सोनाहाले जताततै नदी उत्खनन बढेपछि युवा पुस्ता पुरानो पेसा छोड्न बाध्य भएको बताइन् । ‘पहिले पहिले एउटै समूहले दिनका २० लालसम्म सुन भेटाएको सङ्गीताले बताइन् । नदी उत्खननले अहिले सुन भेटाउन मुस्किल छ,’ उनले भनिन् ।

प्रकाशित मिति : २०८३ असार २३ गते मंगलबार