२०८३ भदौ १८ , बिहीबार 3, September 2026, Thursday

बाँकेमा १८ प्रतिशत क्षेत्रमा धान रोपाइँ

बाँकेमा असार १२ गतेसम्म शून्य दशमलव पाँच प्रतिशत मात्रै धान रोपाइँ भएकोमा एक सातापछि असार १९ गतेसम्म १८ प्रतिशत पुगेको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा आकाशे वर्षा भएपछि धान रोपाइँमा वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्रले शुक्रबारसम्म जिल्लामा छ हजार ८०.४ हेक्टर अर्थात् कुल धान रोपाइँ हुने क्षेत्रको १८ प्रतिशत भूभागमा रोपाइँ सकिएको जनाएको छ । केन्द्रका प्रमुख डा.विनोद घिमिरेले आकाशे वर्षा भएका कारण एक सातामा धान रोपाइँको दर बढेको जानकारी दिए ।

कार्यालयको तथ्याङ्क अनुसार असार १२ गतेसम्म जिल्लामा न्यून क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो । कार्यालय प्रमुख घिमिरेले भने, ‘पर्याप्त वर्षा भएपछि जिल्लाभर धान रोपाइँ भइरहेको छ ।’ उनका अनुसार सिक्टा सिँचाइ आयोजनाको मूल तथा शाखा नहर आसपासका क्षेत्रमा बढी रोपाइँ भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका, डुडुवा र नरैनापुर गाउँपालिकामा भने अहिले पनि रोपाइँ अन्यत्रको तुलनामा कम छ । बाँकेमा कुल ५५ हजार ८२६ हेक्टर क्षेत्रफलमा खेती हुने गरेकोमा ३३ हजार ७८० हेक्टरमा धान रोपाइँ हुने गर्दछ । यस वर्ष ढिलो गरी वर्षा सुरु भएका कारण रोपाइँ केही ढिलो भए पनि यहाँको रैथाने चलन अनुसार यो अवस्था सन्तोषजनक रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बाँकेमा किसानहरूले भदौ पहिलो सातासम्म धान रोपाइँ गर्ने भएकाले अहिलेको गतिलाई स्वाभाविक मान्नुपर्ने कार्यालयको भनाइ छ । सिक्टा सिँचाइ सुविधा उपलब्ध भएका क्षेत्र तथा पम्पसेट एवं मोटरको प्रयोग गरी धानको ब्याड राखेका किसानहरूले वर्षा हुनासाथ धान रोपाइँलाई तीव्र पारेका छन् ।

प्रकाशित मिति : २०८३ असार २२ गते सोमबार