गत वर्षको दसैँमा ऋण निकालेर किनिएको गाडी बिहीबारदेखि कर्णाली नदीमा बेपत्ता छ । गाडीसँगै बेपत्ता छन्, सुर्खेतको पञ्चपुरी नगरपालिका–८, माझीगाउँका दुई सहोदर दाजुभाइ चालक २८ वर्षीय तुलाराम र सहचालक ३१ वर्षीय रामु सुवेदी ।
बिहीबार बिहान साढे ११ बजेको समयमा सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडामा सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खस्यो ।
उक्त घटनाले देभर चर्चा पायो । तर सबैभन्दा बढी शोकमा डुबेको छ पञ्चपुरी नगरपालिका–८, माझीगाउँ र सुवेदीको परिवार । चालक तुलाराम र सहचालक रामु सहोदर दाजुभाइ हुन् । उनीहरूसहित गाडीमा सवार व्यक्तिको अवस्था अझै अज्ञात छ ।
चालक तुलाराम सुवेदी परिवारका सदस्य राजकुमार सुवेदीले तुलारामले गएको दसैँमा ऋण निकालेर उक्त गाडी किनेका जानकारी दिए । अनका अनुसार अरूको गाडी चलाउँदै आएका तुलारामले आफ्नै नयाँ गाडी लिएका थिए ।
गाडी लिएपछि आफू चालक बनेर गाडी चलाए । रोजगारीको सिलसिलामा भारतको बेंग्लुरुमा रहेका आफ्ना दाजु रामुलाई घरमा बोलाए, र सहचालक बनाए । उनीहरू करिब सात–आठ महिनादेखि एउटै गाडी चलाएका थिए ।
यी दुई दाजुभाइको सपना कर्णाली नदीमा हेलिएको छ । नेपालमै बसेर परिवारको भविष्य बदल्नका लागि किनेको गाडी दाइभाइ कर्णाली नदीको भेलमा बिलिन छन् । दुई दाजुभाइ विवाहित हुन् । उनीहरूको घरमा श्रीमती र ससाना छोराछोरी छन् ।
दुर्घटनाको खबर पाएपछि कलिला सन्तान च्यापेर परिवारका सदस्यहरूसँग घटनास्थल पुगेका छन् । तर कर्णाली नदीमा हराएको गाडी बहाव बढेको, जलसतह उच्च भएको र धमिलो पानीका कारण गाडी अझैसम्म फेला पर्न सकेको छैन ।
बिहीबार दिउँसोबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीयको सहयोगमा खोजीकार्य जारी छ । तर हालसम्म पत्ता लाग्न नसकेको दैलेखका प्रहरी प्रमुख डीएसपी श्रवणकुमार विश्वकर्माले बताए ।
उनका अनुसार गाडीको खोजी जारी रहे पनि नदीको प्रतिकूल अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोर टोली घटनास्थलमा परिचालन गरिएको छ ।
सत्यपाटी