संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल निनो आगामी केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिँदै विश्वका धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्ने जनाएको छ । सङ्गठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह गरेको छ ।
डब्लुएमओको मासिक विश्व मौसमी जलवायु अद्यावधिक अनुसार एल निनो अवस्था अहिले नै सुरु भइसकेको छ र जुलाईदेखि सेप्टेम्बरसम्म यो ‘बलियो’ स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ । एल निनो मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतही तापक्रम असामान्य रूपमा बढ्दा उत्पन्न हुने प्राकृतिक जलवायु प्रणाली हो, जसका कारण विश्वभर हावाको बहाव, हावाको चाप तथा वर्षाको ढाँचामा व्यापक परिवर्तन देखापर्छ ।
यो घटना सामान्यतया दुईदेखि सात वर्षको अन्तरालमा देखापर्छ र करिब नौदेखि १२ महिनासम्म सक्रिय रहन्छ । यसको विपरीत अवस्था ‘ला निना’ हो भने यी दुईबीच तटस्थ अवस्था पनि रहने गर्छ । डब्लुएमओले एल निनोलाई कमजोर, मध्यम, बलियो र अत्यन्त बलियो गरी चार तहमा वर्गीकरण गर्ने गरेको छ । यसपटक जुलाईदेखि सेप्टेम्बरको अवधिमा यो तेस्रो अर्थात् ‘बलियो’ श्रेणीमा पुग्ने अनुमान गरिएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय जलवायु केन्द्रले तयार पारेका मोडेलले मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त क्षेत्रमा समुद्री सतहको तापक्रम निरन्तर बढ्ने देखाएका छन् । प्रमुख अनुगमन क्षेत्रहरूमा समुद्री सतहको तापक्रम औसतभन्दा दुई डिग्री सेल्सियसभन्दा बढी रहने अपेक्षा गरिएको छ र यसले पूर्वानुमानप्रति उच्च विश्वसनीयता देखाएको डब्लुएमओले जनाएको छ ।
सङ्गठनका अनुसार एल निनो उत्तरी गोलार्धको शरद ऋतुमा अझ बलियो हुँदै जानेछ र यसको प्रभाव विश्वका धेरै भागमा फैलिनेछ । साथै भूमध्यरेखीय एटलान्टिक महासागर पनि सामान्यभन्दा बढी तातो रहने अनुमान गरिएको छ । पछिल्लो एल निनोले सन् २०२३ लाई इतिहासकै दोस्रो सबैभन्दा तातो वर्ष र २०२४ लाई पूर्वऔद्योगिक औसतभन्दा १.५५ डिग्री सेल्सियस बढी तापक्रमसहित अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनाउन महत्त्वपूर्ण योगदान दिएको थियो ।
डब्लुएमओका महासचिव सेलेस्टे साउलोले एल निनोको तीव्रतासँगै धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, स्थल तथा समुद्री गर्मीको लहरको जोखिम बढ्ने बताए । उनले कृषि, स्वास्थ्य लगायत जलवायुसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा प्रारम्भिक चेतावनी प्रणाली र मौसमी पूर्वानुमानलाई अझ प्रभावकारी बनाइँदै आएको उल्लेख गर्दै समयमै सूचना प्रवाहले जनधनको क्षति घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
नयाँ अद्यावधिकले ६० डिग्री दक्षिणदेखि ६० डिग्री उत्तरसम्मका ध्रुवीय क्षेत्रबाहेक अधिकांश जनबसोबास भएका भूभागमा औसतभन्दा बढी तापक्रम रहने सम्भावना देखाएको छ । जुलाईदेखि सेप्टेम्बरसम्म केही क्षेत्रमा सामान्यभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ भने भारतीय उपमहाद्वीप र अस्ट्रेलियाका धेरै भागमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।
डब्लुएमओले जलवायु परिवर्तनका कारण एल निनोको आवृत्ति वा तीव्रता बढेको ठोस प्रमाण नरहेको स्पष्ट पारे पनि तातो समुद्र र वातावरणका कारण गर्मीको लहर, भारी वर्षा तथा अन्य चरम मौसमीय घटनाको प्रभाव भने अझ गम्भीर बन्न सक्ने जनाएको छ । साथै उत्तरी गोलार्धको गर्मीयाममा एल निनोसँग सम्बन्धित न्यानो समुद्री पानीले मध्य तथा पूर्वी प्रशान्त क्षेत्रमा आँधीबेहरीको गतिविधि बढाउन सक्ने, तर अटलान्टिक महासागरमा यस्ता प्रणालीको विकासलाई कमजोर पार्न सक्ने डब्लुएमओले जनाएको छ ।
एल निनो के हो ?
डब्लूएमओका अनुसार एल–निनो प्रशान्त महासागरको मध्य तथा पूर्वी भूमध्यरेखीय क्षेत्रमा समुद्री सतहको तापक्रम सामान्यभन्दा उल्लेखनीय रूपमा बढ्ने प्राकृतिक जलवायु अवस्था हो । एल निनोका कारण विश्वका विभिन्न भागमा वर्षा, तापक्रम, आँधीबेहरी तथा मनसुनी प्रणालीमा परिवर्तन देखिन सक्छ । डब्लूएमओका अनुसार प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ्दै जाँदा एल निनोको विकास भइरहेको छ ।
जुनदेखि अगस्टसम्म विश्वका अधिकांश भूभागमा औसतभन्दा बढी तापक्रम रहने पूर्वानुमान गरिएको छ । यसले कृषि, जलस्रोत, जनस्वास्थ्य तथा विपद् व्यवस्थापन क्षेत्रमा थप चुनौती सिर्जना गर्न सक्ने डब्लूएमओको भनाइ छ । विपद् व्यवस्थापनविद् डा.धर्मराज उप्रेतीका अनुसार एल निनोको तीव्र विकासले विश्वव्यापी तापक्रम वृद्धि, खडेरी, पानीको अभाव तथा चरम मौसमी घटनाको जोखिम बढाउन सक्छ । त्यसैले प्रभावित हुन सक्ने क्षेत्रले कृषि, जलस्रोत व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणका लागि समयमै तयारी गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।
विश्वव्यापी तापक्रम बढ्ने
यस वर्ष तीव्ररूपमा विकसित भइरहेको ‘एल निनो’का कारण विश्वका अधिकांश भूभागमा औसतभन्दा बढी तापक्रम हुने तथा दक्षिण एसियासहित भारतीय उपमहाद्वीपमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको भन्दै चिन्ता जनाइएको छ । यस वर्षको सुरुवातमा कमजोर बन्दै गएको लानिनाबाट प्रशान्त महासागरको अवस्था तटस्थमा पुगेको भए पनि आगामी महिनामा बलियो एल निनो विकसित हुने संकेत देखिएको छ ।
प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोसँगै सकारात्मक आईओडीको प्रभावले दक्षिण एसियाली मनसुन प्रणालीमा थप असर पार्न सक्ने मौसमविद्हरूको भनाइ छ । पूर्वानुमान अनुसार उत्तरी अमेरिका, युरोप, अफ्रिका तथा एसियाका अधिकांश भूभागमा औसतभन्दा बढी तापक्रम हुने सम्भावना उच्च छ । दक्षिण तथा पूर्वी एसियामा तापक्रम वृद्धि हुने सम्भावना अझ बढी रहेको उल्लेख गरिएको छ ।
विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) अन्तर्गतको बहु–मोडेल मौसमी पूर्वानुमान प्रणालीले सार्वजनिक गरेको पछिल्लो मौसमी पूर्वानुमान अनुसार दक्षिणी गोलार्धका दक्षिण अमेरिका, दक्षिणी अफ्रिका तथा अस्ट्रेलियाका धेरै क्षेत्रमा पनि औसतभन्दा बढी तापक्रम रहने संकेत देखिएको छ । भूमध्यरेखीय अफ्रिका तथा समुद्री दक्षिणपूर्वी एसियामा समेत तापक्रम सामान्यभन्दा माथि रहने सम्भावना प्रवल छ ।
धान उत्पादनमा ह्रास
गत वर्ष मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको प्रक्षेपण गरिए सबै स्थानमा धान रोपाइँका लागि भने मनसुन अनुकूलन देखिएन । बर्खे धान रोप्ने समयमा खडेरी परेपछि यसपटक धान उत्पादनमा पनि कमी आएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । विशेषगरी कोशी र मधेश प्रदेशमा परेको खडेरीका कारण उत्पादनमा कमी आएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा धानबाली भित्र्याइएको कुल क्षेत्रफल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफल थियो ।
चालु आवमा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८७२ हेक्टर क्षेत्रफल कायम रहेको मन्त्रालयको अनुमान छ । यसैगरी, आव २०८१–८२ मा ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन उत्पादन भएकोमा चालु आवमा ४.२० प्रतिशतले कमी भई ५७ लाख ५ हजार १२६ मेट्रिकटन उत्पादन भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यसैगरी, उत्पादकत्व गत आव मा ४.१९ मेट्रिकटन प्रतिहेक्टर रहेकोमा आव २०८२–०८३ मा उत्पादकत्व १.१६ प्रतिशतले घटेर ४.१४ मेट्रिकटन प्रतिहेक्टर हुन पुगेको छ ।
सत्यपाटी