२०८३ असार १८ , बिहीबार 2, July 2026, Thursday

बाँकेमा रासायनिक मल वितरण, किसानलाई मल पाउन सास्ती

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार १८ गते बिहीबार

जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणाली अनुरूप रासायनिक मल वितरण सुरु गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले कोहलपुर नगरपालिकामा ९६९ बोरा युरिया, ५६५ बोरा डिएपी र १५७ बोरा पोटास तथा नेपालगन्ज उपमहानगरपालिकामा ८६९ बोरा डिएपी, १७४ बोरा पोटास र एक हजार ३१४ बोरा युरिया मल वितरण गरिएको बताए ।

उनका अनुसार बैजनाथ गाउँपालिकामा एक हजार १५१ बोरा, एक हजार ३८० बोरा युरिया र २३० बोरा पोटास, खजुरा गाउँपालिकामा १ हजार १४४ बोरा डिएपी, एक हजार ३७० बोरा युरिया र २३० बोरा पोटास, जानकी गाउँपालिकामा ८५९ बोरा डिएपी, एक हजार २७ बोरा युरिया र १७२ बोरा पोटास, डुडुवा गाउँपालिकामा एक हजार १४३ बोरा डिएपी, एक हजार ३६५ बोरा युरिया र २२९ बोरा पोटास मल वितरण गरिएको छ ।

त्यसैगरी राप्तीसोनारी गाउँपालिकामा एक हजार २२८ बोरा डिएपी, एक हजार ६३३ बोरा युरिया, २७५ बोरा पोटास र नरैनापुर गाउँपालिकामा ८०९ बोरा डिएपी, ९६९ युरिया र १६२ बोरा पोटास मल वितरण गरिएको छ । नेपालगन्ज–१६ का ५२ वर्षीय बछिलाल यादवले रासायनिक मल नपाएर सास्ती भोग्नुपरेको बताए । ‘हाल रोपाइँको समय छ, यही समयामा मल पाउन सास्ती छ,’ उनले भने । जिल्ला सहकारी सङ्घ बाँकेका प्रमुख नवराज उपाध्यायले नेपालगन्जका १२ वटा वडामा वितरणका लागि कुल ८१ बोरा रासायिनक मल आएको उल्लेख गर्दै सो मल पाउनका लागि किसानको भीड लागेको बताए ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार