२०८३ असार १८ , बिहीबार 2, July 2026, Thursday

कर्णाली नदीमा तैरिने टर्बाइनबाट विद्युत् उत्पादन परीक्षण

सत्यपाटीसत्यपाटी । कैलाली । २०८३ असार १८ गते बिहीबार
कैलालीको मोहन्याल–७, कचलीमा कर्णाली नदीमा विद्युत् उत्पादनका लागि राखिएको तैरिने टर्बाइन प्रविधि ।

कैलालीको मोहन्याल गाउँपालिका–७, कचालीस्थित कर्णाली नदीमा नेपालमै पहिलो पटक नदीको प्राकृतिक बहाबबाट तैरिने टर्बाइनमार्फत १०० किलोवाट विद्युत् उत्पादन गर्ने प्रविधिको परीक्षण सुरु गरिएको छ ।

सफल भएमा यस प्रविधिले नेपालको ऊर्जाक्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ । नेपाल इनर्जी फाउन्डेसनका दलबहादुर ओलीका अनुसार परियोजनाको अध्ययन आर्थिक वर्ष २०७७–०७८ देखि सुरु गरिएको हो ।

हाल परीक्षण कार्य करिब ८० प्रतिशत काम भइसकेको छ भने बाँकी काम अन्तिम चरणमा पुगेको छ । बेलायतको अक्लेक्स इनर्जीको सहयोग, बुटवल हाइड्रोपावर, नेपाल इनर्जी फाउन्डेसन तथा मोहन्याल गाउँपालिकाको समन्वयमा परियोजना सञ्चालन भइरहेको छ ।

वलीका अनुसार नदीमा विशेष प्रकारको हावादानी (एयर ब्याग)को सहायताले टर्बाइन जडान गरिनेछ । नदीको प्राकृतिक बहाबले टर्बाइन घुमाएर विद्युत् उत्पादन गर्नेछ र तारमार्फत घर घरमा विद्युत् आपूर्ति गरिनेछ ।

यस प्रविधिमा बाँध निर्माण गर्नुपर्ने आवश्यकता नपर्ने भएकाले वातावरणमैत्री, कम लागतको तथा छिटो कार्यान्वयन गर्न सकिने विकल्पका रूपमा हेरिएको छ । उनले परीक्षण सफल भएमा करिब पाँच सय घरधुरीले विद्युत्सेवा प्राप्त गर्न सक्ने जानकारी दिए ।

परियोजनालाई प्रारम्भिक रूपमा दुईदेखि तीन वर्षसम्म परीक्षणका रूपमा सञ्चालन गरिनेछ । परीक्षण सफल भएपछि परियोजना स्थानीय सरकार तथा स्थानीय सहकारीलाई हस्तान्तरण गर्ने योजना रहेको उनले जानकारी दिए ।

ओलीले नेपालमा पहिलो पटक प्रयोग हुन लागेको यो प्रविधि सफल भएमा देशका विभिन्न नदीमा समेत सहज रूपमा विद्युत् उत्पादन गर्न सकिने विश्वास व्यक्त गर्दै नेपालको ऊर्जाक्षेत्रमा नयाँ युगको सुरुवात हुन सक्ने बताए ।

मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर साउदले कर्णाली नदीमा वर्षायाममा पानीको बहाब अत्यधिक बढ्ने तथा काठ लगायतका वस्तु बगेर आउने भएकाले परीक्षणका क्रममा केही चुनौती आउन सक्ने बताए ।

यद्यपि ती चुनौतीलाई व्यवस्थापन गर्दै प्रविधिलाई सफल बनाउन सबै पक्ष लागिपरेको उनको भनाइ छ । उपाध्यक्ष साउदले यो प्रविधि सफल भए मोहन्याल गाउँपालिकाका लागि मात्र नभई समग्र नेपालकै ऊर्जा विकासका लागि वरदान साबित हुने विश्वास व्यक्त गरे ।

उनका अनुसार बाँध निर्माण नगरी सिधै बगिरहेको नदीको पानीबाट विद्युत् उत्पादन गर्न सकिए नेपाल जस्तो नदीजन्य स्रोत सम्पन्न मुलुकका लागि यो ठुलो उपलब्धि हुनेछ ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार