२०८३ असार १८ , बिहीबार 2, July 2026, Thursday

१५ वर्षदेखि हिमालपारिको गाउँमा हराइरहेका मजदुरको पीडादायी कथा

सत्यपाटीसत्यपाटी । गोरखा । २०८३ असार १८ गते बिहीबार

छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’ । ‘ओइ बन्दी, बन्दे, बन्दिपुर’, केटाकेटीदेखि बूढाबूढीसम्म सबैको प्रिय नाम हो ‘बन्दिपुर’ ।

कोही कसैले बन्दिपुर भन्ने मेसो नपाएर ‘ओइ कान्तिपुर’ पनि भन्ने गर्छन् । ‘मेरो त नामै बन्दिपुर भइसक्यो । कहिलेकाहीँ म आफैँ पनि आफ्नो वास्तविक नाम भुल्छु । कसैले के हो भनेर सोध्यो भने म बन्दिपुर भन्न जान्छु,’ विगत १० वर्षदेखि चुमभ्यालीमा हराइरहेका सुमन थापामगरले भने ।

घर तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–८ जालभञ्ज्याङ बताउने उनी गोरखाको हिमालपारिको गाउँमा गुमनाम छन् । केही वर्षदेखि चुमनुब्री गाउँपालिका–७ को छेकम गाउँमा बस्दै आएका उनको चुमभ्यालीमा प्रवेश गरेको १० वर्ष भयो । त्यसअघि उनी चुमनुब्री–३ फिलिम गाउँमा करिब पाँच वर्ष बसेका थिए ।

कमाउन निस्केको बाटो

४६ वर्षीय सुमन थापा २०६८–०६९ तिर गोरखाको आरुघाट बजारमा ज्याला मजदुरी गर्न आएका थिए । ‘एकजना तुफान भन्ने ठेकेदारको काम गर्न आएको । सोतीमा दिनगन्ती १३८ दिन काम गरियो,’ १५ वर्षअघिको विगत सम्झँदै सुमनले भने, ‘काम सकेपछि ठेकेदारले पैसै नदिई बिचल्ली बनाएर भाग्यो । त्यसपछि भाग्य बिग्रेको अहिलेसम्म बिचल्लीमै छु ।’

सोतीमा काम सकेर बन्दीपुर फर्कने योजना थियो सुमनको । त्यो योजना आजसम्म पूरा हुन सकेको छैन । १५ वर्षदेखि पारिश्रमिक उठाउन नसकेका कारण उनी भोटखोलामै फसेका छन् । ‘रित्तो हात कसरी मुख देखाउन घर जाने ?’ उनी सोध्छन् । सोतीमा काम गरेको पैसा नपाएपछि उनी त्यहाँबाट तीन दिन पैदल हिँडेर फिलिममा काम गर्न पुगे ।

विसं २०७२ को गोरखा भूकम्पअघि उनी त्यहाँ स्वास्थ्यचौकी बनाउने काम गर्थे । फिलिमबाट पनि उनी बन्दीपुर फर्कन पाएनन्, किनभने त्यहाँ पनि श्रम गरेको ज्याला पाएनन् । सुमन जोङगाउँका नाम्ग्याल दोर्जे भन्ने व्यक्तिसँग काम गर्न फिलिम आएका थिए ।

‘सोतीमा पैसा नपाएपछि सिर्दिबास आएँ । यहाँ पनि उत्तम भट्ट भन्ने ठेकेदारसँग काम गरेको पैसा पाइनँ । नाम्ग्याल दोर्जेले पनि काम लगाए तर पैसा दिएनन्,’ सुमनले भने । काम गरेको ज्याला नपाएपछि घर जान नपाएका सुमन ठेकेदारहरूका कारण पटकपटक बिचल्लीमा परिरहे । ज्याला नपाएको पीडाले उनी झन् उँभो, झन् उँभो सर्दै चुमभ्यालीमा फस्न पुगे ।

उकालो चढ्दै जाँदा हराएको घर फर्किने बाटो

जीवनले कहिलेकाहीँ मानिसलाई बाटो रोज्न दिँदैन । एउटा अधुरो हिसाब उठाउन खोज्दा सुमन अर्को अधुरो हिसाबमा फस्दै गए । उनी पैसा खोज्दै उकालो लागे, तर उकालो चढ्दै जाँदा घर फर्किने बाटो झन् ओझेल पर्दै गयो । सुमन पैसा खोज्दै हिँडेको मान्छेभन्दा पनि पैसा नपाउने चक्रमा फसेको मान्छे बन्दै गए ।

नाम्ग्याल दोर्जे नामका ठेकेदारले सुमनलाई फिलिममा काम गरेको पैसा ‘सोतीमा दिन्छु’ भन्दै सोतीमा लगेर ५०० रुपैयाँ मात्र दिएर छाडे । सुमन सोतीमा पुनः दोस्रोपटक बिचल्लीमा परे । पाँच सय रुपैयाँले बन्दीपुर जान सम्भव नभएपछि उनी फिलिम नै फर्किए ।

त्यसलगत्तै २०७२ को भूकम्प गयो । भूकम्पपछि उनले फिलिममा छिरिङ पासाङ नामका अर्का ठेकेदारसँग काम गरे । पासाङले पनि पारिश्रमिक दिएनन् । बरु काम गरेको पैसा काठमाडौं गएर दिन्छु भन्दै उनलाई चुमभ्यालीको छेकम्पार ल्याइपुर्याए ।

‘काठमाडौं भनेर यता ल्यायो । न त काम गरेको पैसा नै पाएँ । त्यत्रो काम गरेको यहाँ ल्याएर जम्मा तीन हजार दिएर छाड्यो,’ लामो सास फेर्दै सुमनले भने, ‘बिरानो गाउँमा बिना पैसा गुजारा गर्न सकिँदैनथ्यो । त्यसैले यहाँ गाउँमा जे काम पाइन्छ त्यही गर्न थालेँ ।’

त्यसबाट उनलाई जसोतसो खान त पुग्यो, तर सबैले पैसामा मारे । ‘काम भने मरुन्जेल लगाउने तर पैसा नदिने चलन रहेछ ठेकेदारको । पैसा पाएपछि घर जाउँला भनेर बसेँ । १५ वर्ष भयो, न त पैसा आयो, न त घर नै जान पाएँ,’ उनले भने ।

सुमनले सोती र फिलिममा गरेर करिब पाँच वर्ष ज्याला मजदुरी गरे । पारिश्रमिक पाएनन् । छेकम गाउँमा विगत १० वर्षदेखि अधिकांशको घरमा उनी ज्याला मजदुरी गर्दै आएका छन् । कसैकोमा २८ महिना, कसैकोमा ३० महिना त कसैकोमा वर्ष दिन । तर त्यहाँ पनि उही पारिश्रमिक नपाउने व्यथा ।

सबैले भातको भरमा मात्र काम लगाउँछन् । ‘अब यहाँ ‘दे मेरो पैसा’ भनेर ठूलो स्वर गर्न पाइँदैन । बोल्यो कि मर्छ,’ भाँचिएको हात देखाउँदै उनले भने, ‘काम गरेन, पैसा माग्यो भने यस्तो पो हुन्छ ।’ अहिले सुमनको हात भाँचिएको एक महिना भयो ।

छेकमका छिरिङ पाल्जोर भन्ने व्यक्तिले आफ्नो हात भाँचिदिएको उनले बताए । एक महिनाअघि छिरिङ पाल्जोरसँग सहयोगीका रूपमा छेकम्पारको छेके लेक पुगेका सुमनका अनुसार साहुहरू यार्सागुम्बा टिप्न जाँदा भरियाका रूपमा आफूहरूलाई लगिएको थियो ।

‘बिहान भात, बेलुकी भात, दिनभरि भोकै खटिनुपथ्र्यो । उनीहरू कीरा टिप्थे, हामी भरियाले सल्लाको फूल टिप्ने । उनीहरूको भारी बोक्ने, चौँरी हेर्ने काम गर्नुपथ्र्यो । साह्रै दुःख भयो भनेर म र अर्को भाइ गाउँ फर्कियौँ । नसोधी आइस् भनेर छिरिङ पाल्जोरले गाउँमै आएर हात भाँचिने गरी पिटे,’ उनले भने ।

बारपाकबाट काम गर्न आएका अर्का एक भरियाले ज्याला माग्दा कुटाइ खाए । ढाडमा गम्भीर चोट लागेका उनी घर फर्किए । सुमन भने फर्कन सकेनन् । उनका लागि साहुले हातखुट्टा भाँचिदिने विषय सामान्यजस्तै भइसकेको थियो । छिरिङ पाल्जोरले सुमनको हात भाँच्दै गर्दा छेकम्पार चौकीका प्रहरी प्रत्यक्षदर्शी थिए । न प्रहरीले उनलाई न्याय दिलायो, न स्थानीयले । सबै मूकदर्शक बनेर हेरिरहेको उनले बताए ।

बन्दिपुर एक्लो छैनन्

बन्दिपुर मात्र होइन, कमाइ खाने रहरले यहाँ आइपुगेका अन्य मजदुरहरूको नियति पनि उस्तै छ । विभिन्न ठाउँबाट भोटखोलामा काम गर्न आएका उनीहरू पनि वर्षौँदेखि गुमनाम छन् । थुप्रै सुमनहरू लेकका साहुकहाँ हली, गोठाला बसेका छन् । सुमनका दौँतरी धने नेपाली र अर्बिन मगर पनि तल्लो भेगबाट रोजगारीका लागि छेकम्पार पुगेका हुन् ।

धनबहादुर नेपाली र अर्बिन मगर केही वर्षअघि मात्र चुमभ्याली आएका थिए । उनीहरू सबैको साझा समस्या हो, काम गरेको पारिश्रमिक नपाउनु । हात भाँचिएपछि सुमनको उपचार अस्पतालमा भएन । उनको उपचार स्थानीय छेकम गुम्बाका लामाले गरिदिएका छन् । लामाले झारफुक गरेर जडीबुटी खुवाएको उनले बताए । भाँचिएको हात अझै निको भएको छैन ।

अहिले सुमन छेकम गाउँमा स्थानीय धवाङ्दी लामाको सानो टहरोमा बस्छन् । दिनभर काम गरेर साँझ–बिहानको छाक टार्ने उनी हात भाँचिएका कारण धेरै काम गुमाउनुपरेको दुःख सुनाउँछन् । ‘अरू त के नै पाइन्छ र यता, खाए पनि आलु, नखाए पनि आलु,’ सुमनले हाँस्दै भने ।

काम पाएको बेला दिनको एक हजार रुपैयाँ ज्यालामा काम गर्छन् । तर काम गरेपछि पनि अधिकांशले पैसा दिन आलटाल गर्छन् । छेकम गाउँमा मात्र लाखौँ रुपैयाँ ज्याला उठाउन बाँकी रहेको उनी बताउँछन् । उनीलाई बेलाबेला गाउँघरको यादले पिरोल्छ । गाउँमा साथीसँग मगर भाषामा ठट्टा गरेको हिजोजस्तै लाग्छ । गाउँको याद मेटाउन उनी रक्सीको सहारा लिन्छन् ।

गाउँमा उनकी आमा छिन् भने दुई दाजुभाइ र दुई बहिनी छन् । सुमनको परिवारसँग अन्तिमपटक कुरा भएको पनि १० वर्ष बितिसकेको छ । भूकम्पअघि एकपटक फोनमा कुरा भएको उनलाई सम्झना छ । दाजुभाइ र बहिनीको बिहे भइसके पनि उनको अझै विवाह भएको छैन । घर, परिवार र विगत सम्झँदै सुमन बोल्दाबोल्दै केहीबेर भावुक बन्छन् ।

फेरि जुरुक्क उठेर हाँस्छन् । छेकमवासीले हरेक दिन ‘ओइ बन्दिपुर’ भनेर बोलाउँदा उनलाई आफ्नै घरको झल्को आउँछ । बन्दीपुरबाट पैसा कमाउन निस्किएका सुमन आज बन्दिपुरकै नाम बोकेर चुमभ्यालीमा हराइरहेका छन् । थाहा छैन, यहाँबाट कसरी उम्कने । तर उनी आफ्नो पसिनाको मूल्य (ज्याला) पाएको भोलिपल्टै घर फर्किने योजनामा छन् ।

स्रोत : रासस
प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार