मङ्गलवार बिहानैदेखि भएको निरन्तर वर्षाका कारण नेपालगन्जका अधिकांश स्थान जलमग्न भएका छन् । ढल तथा नालाहरूको नियमित सरसफाइ नहुँदा फोहोरले नाला भरिएर पानीको निकास बन्द भएपछि पहिलो वर्षामै नगर जलमग्न भएको स्थानीयवासीले जनाएका छन् ।
मङ्गलबार बिहान करिब ५ बजेदेखि सुरु भएको वर्षा दिउँसोसम्म निरन्तर भइरहेकाले नेपालगन्जका अधिकांश भाग जलमग्न भएको न्युरोडका दीपक थापाले बताए । पानीको निकास थुनिँदा घरबारी टोल, न्युरोडको सेतु विक चोकदेखि त्रिवेणी मोडसम्मको क्षेत्र, गणेशपुरको बस्ती, बसपार्क क्षेत्र, धम्बोझी, एकलैनी टोल, बिलासपुर, कोरियनपुर र भृकुटीनगरका अधिकांश क्षेत्रमा पानी भरिएर ती क्षेत्र जलमग्न भएका छन् ।
नगरका अधिकांश भागमा नालाहरू निर्माण गरेर ढल निकासको व्यवस्था गरिए पनि ती नालाको नियमित सरसफाइ नगरिँदा नाला थुनिएपछि नगरमा पानी जमेको छ । नगरका अधिकांश ठाउँमा पानी भरिएर जलमग्न भएपछि स्थानीय बासिन्दालाई आवागमनमा कठिनाइ भएको छ । नाला र ढल निर्माण गरिए पनि सरसफाइमा ध्यान नदिएकाले नै हरेक वर्ष सानो वर्षामा पनि डुबानको समस्या आउने गरेको न्युरोडका व्यवसायी अमर अन्सारीले बताए ।
उनले न्युरोडका धेरै पसलमा वर्षाको पानी छिरेर विभिन्न सामग्रीमा क्षति पुगेको जानकारीसमेत दिए । पानी बग्न नपाएर थुनिदाँ सडक हिड्न नमिल्ने भएको घरबारी टोलका स्थानीय अंगिमा शेर्पाले बताए । हरेक पटक वर्षा हुने वित्तिकै यस्तो समस्या दोहोरिए पनि उपमहानगरपालिकाले बेवास्ता गरिरहेको उनको गुनासो छ । बजारका विभिन्न ठाउँहरु जलमग्न हुदा मानिसहरुलाई आवतजावत गर्न समस्या परिरहेको छ ।
उपमहानगरपालिकाले नगरभित्र रहेका ठूला नालीहरु समयमै सफा नगर्दा नगरका धेरै ठाउँहरु डुवानमा पर्ने गरेका छन् । लामो समयसम्म ठूलो बर्षा भए घरदेखि पसलहरुमा समेत पानी पस्ने गर्दछ । पश्चिम नेपालको पूरानो सहर भए पनि नेपालगन्ज अझै व्यवस्थित हुन नसक्दा केहीबेर परेको पानीले समेत जलाम्य हुन्छ । पछिल्लो समय नेपालगन्जमा डुवानको समस्या झन् बढ्दो क्रममा रहेको छ ।
सत्यपाटी