२०८३ असार १६ , मंगलबार 30, June 2026, Tuesday

वन्यजन्तुसँगको द्वन्द्वले बढाएको त्रास

कृष्ण न्यौपानेकृष्ण न्यौपाने । तनहुँ । २०८३ असार १६ गते मंगलबार

तनहुँमा पछिल्लो दशकयता चितुवाको आक्रमण मानव–वन्यजन्तु द्वन्द्वको गम्भीर चुनौतीका रूपमा देखा परेको छ । विशेषगरी बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन् । जिल्लामा हुने अधिकांश आक्रमण साँझको समयमा हुने गरेका छन् । वन क्षेत्र नजिकका बस्तीमा चितुवाको उपस्थितिसँगै स्थानीयवासी त्रसित बन्न बाध्य छन् ।

तनहुँमा साँझ ५ बजेदेखि ८ बजेसम्मको अवधिमा चितुवाको आक्रमण बढी भएको पाइएको छ । जिल्लामा नौ वर्षको अवधिमा चितुवाको आक्रमणबाट १७ जनाको मृत्यु भएको छ । उक्त घटनामध्ये २२ वटा घटना साँझ ५ बजेदेखि ८ बजेसम्मको अवधिमा भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

चितुवाको आक्रमणबाट मृत्यु भएका १७ जनामध्ये १३ जनाको मृत्यु साँझको समयमा भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले बताए । साँझको समयमा घरआँगन वा बाटोमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको देखिएको रानाभाटले जानकारी दिए । बिहानको समयमा आक्रमण भएका घटनामा खेतबारी, गोठ तथा घर आसपासमा चितुवासँग जम्काभेट हुँदा घटना घटेका छन् ।

साँझ ५ बजेदेखि ८ बजेसम्मको समयमा २२ घटना घटेकामा १३ जनाको मृत्यु, नौ जना घाइते भएका छन् । बिहान ३ बजेदेखि ८ बजेसम्मको अवधिमा भएको सात घटनामा दुई जनाको मृत्यु र पाँच जना घाइते भएको रानाभाटले बताए । त्यस्तै दिउँसो १२ बजेदेखि ५ बजेसम्म सात घटना भएकामा एक जनाको मृत्यु र छ जना घाइते भएका छन् भने राति ८ बजेपछि भएको दुई घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

दिनभरि झाडी, भीरपाखा तथा वन क्षेत्रमा लुकेर बस्ने चितुवा साँझपख सक्रिय हुन थाल्छ । यही समयमा मानिसहरू पनि खेतबारीबाट घर फर्किने, बालबालिका घरआँगनमा खेल्ने तथा पशु चौपाया गोठतर्फ ल्याउने गतिविधि हुने भएकाले मानव र चितुवाबीच जम्काभेटको सम्भावना बढ्दो रहेको रानाभाटको भनाइ छ ।

उनका अनुसार चितुवाको आक्रमणबाट पाँच वर्ष मुनिका चार जनाको मृत्यु र दुई जना घाइते, १० वर्षमुनिका दश जनाको मृत्यु र छ जना घाइते भएका छन् । एघारदेखि १५ वर्षसम्मका एक जनाको मृत्यु र दुई जना घाइते, १६ देखि ३० वर्षसम्मका दुई जना घाइते, ३१ देखि ५० वर्षसम्मका सात जना घाइते, ५० भन्दामाथिको दुई जना घाइते भएका छन् ।

आर्थिक वर्ष २०७४–०७५ मा एक, २०७५–०७६ मा दुई, २०७६–०७७ मा पाँच, २०७७–०७८ मा एक, २०७८–०७९ मा एक, २०७९–०८० मा तीन, २०८१–०८२ मा एक र २०८२–०८३ मा एक जनाको मृत्यु भएको छ । चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न सचेतनामूलक गरिँदै आएको उनको भनाइ छ ।

‘चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्ज्यालो बनाऔँ, झाडी सफा गरौँ, एक्लै नहिँडौँ,’ उनले भने, ‘बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गरौँ ।’ मृग, वन कुखुरा लगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको उनले बताए ।

जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो छ । ‘तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समयलगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराएका छौँ,’ उनले भने, ‘चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।’

वनजङ्गलमा पाइने जीवजन्तु मानिसले शिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ । चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुन थालेको अध्ययनबाट देखिएको छ । ‘चितुवाको प्राकृतिक खाना मानिस होइन,’ उनी भन्छन्, ‘तर वनभित्र पर्याप्त शिकार नपाउँदा उसले बस्ती क्षेत्रलाई विकल्पका रूपमा लिन थालेको देखिन्छ ।’

पछिल्ला वर्षमा तनहुँका विभिन्न क्षेत्रमा सडक विस्तार, बस्ती विकास तथा वन क्षेत्रको अतिक्रमण बढेको छ । वन क्षेत्र खुम्चिँदै जाँदा चितुवा र मानिसको दूरी घट्दै गएको छ । विशेषगरी बन्दीपुर, भानु, व्यास, शुक्लागण्डकी तथा आँबुखैरेनी क्षेत्रका वन आसपासका बस्तीहरूमा चितुवा देखिने क्रम बढेको छ । वन र बस्तीको सीमाना अस्पष्ट बन्दै जाँदा द्वन्द्वका घटना बढिरहेका छन् ।

१७ जनाको मृत्यु

आव २०७४–०७५ देखि २०८२–०८३ सम्म जिल्लाका विभिन्न स्थानीय तहमा चितुवाको आक्रमणका घटना भएका हुन् । मृत्यु हुनेमध्ये बन्दीपुर गाउँपालिकामा सबैभन्दा बढी सात जना रहेका छन् । त्यसैगरी भानु नगरपालिकामा पाँच जना, व्यास नगरपालिकामा दुई जना, शुक्लागण्डकी नगरपालिकामा दुई जना तथा आँबुखैरेनी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।

यस अवधिमा चितुवाको आक्रमणबाट २१ जना घाइते भएका छन् । घाइतेमध्ये भानु नगरपालिकामा नौ जना, बन्दीपुर गाउँपालिकामा चार जना, व्यास नगरपालिकामा चार जना, आँबुखैरेनी गाउँपालिकामा दुई जना, शुक्लागण्डकी नगरपालिकामा एक जना तथा म्याग्दे गाउँपालिकामा एक जना रहेका छन् ।

३२ लाख राहत वितरण

कार्यालयले वन्यजन्तुबाट क्षति भएकालाई राहत वितरण गर्दै आएको छ । चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवार, वन्यजन्तुबाट बालीनालीमा पुगेको क्षतिको मूल्याङ्कन गरी राहत वितरण गर्ने गरिएको छ । विसं २०७६ देखि २०८३ सम्म रु ३१ लाख ७६ हजार ४५० राहत वितरण गरिएको छ ।

२०७६ सालमा रु तीन लाख ११ हजार ५००, २०७७ मा रु चार लाख ७६ हजार, २०७८ मा रु १५ हजार, २०७९ मा रु सात लाख १८ हजार, २०८० मा रु चार लाख १६ हजार आठ सय, २०८१ मा रु छ लाख आठ हजार, २०८२ मा रु पाँच लाख ८९ हजार २५० र २०८३ मा रु ४१ हजार ९०० राहत वितरण गरिएको छ ।

वन्यजन्तु र मानवबीचको द्वन्द्व पछिल्ला वर्षहरूमा चुनौतीका रूपमा देखिन थालेको उल्लेख गर्दै वन्यजन्तुको प्राकृतिक वासस्थान खुम्चिँदै जानु, जङ्गल आसपास मानव बस्ती विस्तार हुनु तथा खाद्यान्नको खोजीमा वन्यजन्तु बस्ती क्षेत्रमा प्रवेश गर्नु मुख्य कारण रहेका छन् ।

‘तनहुँका विभिन्न ग्रामीण क्षेत्रमा बाँदर, भालु, बँदेल लगायतका वन्यजन्तुले कृषिबाली तथा पशुधनमा क्षति पुर्याउने र कतिपय अवस्थामा मानिसमाथि समेत आक्रमण गर्ने घटना भइरहेका छन्,’ रानाभाटले भने, ‘यस्ता घटनाबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनु सरकारको दायित्व हो । त्यसैले निर्देशिका अनुसार निवेदन परेका घटनाको स्थलगत अध्ययन गरी राहत वितरण गरिरहेका छौँ ।’

उनले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि राहत वितरण मात्र पर्याप्त नभएको बताउँदै दीर्घकालीन समाधानका उपायहरूमा समेत कार्यालयले काम गरिरहेको जानकारी दिए । वन्यजन्तु प्रवेश रोक्न तारबार, जनचेतनामूलक कार्यक्रम, वन क्षेत्र व्यवस्थापन तथा स्थानीय समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखिएको उनले बताए ।

‘किसानले मेहनत गरेर लगाएको बाली नष्ट हुँदा र पशुधन गुमाउँदा ठूलो आर्थिक क्षति बेहोर्नुपर्छ । त्यसैले राहतसँगै क्षति न्यूनीकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक छ,’ उनले भने । रानाभाटका अनुसार वन्यजन्तुबाट क्षति भएमा प्रभावित नागरिकले सम्बन्धित वडा कार्यालय, सामुदायिक वन उपभोक्ता समूह वा डिभिजन वन कार्यालयमा समयमै जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।

घटनाको सत्यतथ्य मूल्याङ्कनपछि निर्देशिकामा तोकिएबमोजिम राहत उपलब्ध गराइने गरिएको छ । तनहुँका व्यास, भानु, शुक्लागण्डकी, बन्दीपुर, घिरिङ, म्याग्दे तथा आँबुखैरेनी क्षेत्रका विभिन्न ग्रामीण बस्तीहरूमा बाँदर र अन्य वन्यजन्तुका कारण कृषिबाली तथा पशुधनमा क्षति पुग्ने समस्या बर्सेनि दोहोरिने गरेको छ । विशेषगरी मकै, धान, तरकारी तथा फलफूलखेती वन्यजन्तुको निशानामा पर्ने गरेका छन् ।

चितुवा नियन्त्रणभन्दा पनि मानव–वन्यजन्तु सहअस्तित्वलाई प्राथमिकता दिनुपर्ने औँल्याइएको छ । वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षण, अवैध शिकार नियन्त्रण, वन क्षेत्र व्यवस्थापन, जनचेतना अभिवृद्धि तथा बस्ती सुरक्षाका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नसके मात्र समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्छ ।

स्रोत : रासस
प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार