राराको प्रमुख पर्यटकीय गन्तव्य मुर्माटपमा नेपाल टेलिकमले फोरजी सेवा शुरू गरेपछि स्थानीय बासिन्दा र पर्यटकलाई राहत मिलेको छ । छायाँनाथ रारा नगरपालिका–९ स्थित मुर्माटपमा नेपाल टेलिकमले फोरजी टावर निर्माण गरी असार १५ गतेदेखि तीव्र गतिको फोरजी सेवा विस्तार गरेको हो ।
यससँगै रारा क्षेत्र लगायत आसपासका बस्तीका स्थानीय नागरिक तथा स्वदेशी–विदेशी पर्यटकले सहज रूपमा इन्टरनेट सेवा प्रयोग गर्न थालेका छन् । मुर्मा गाउँका डवल रोकायाले फोरजी टावर निर्माणसँगै इन्टरनेट सेवा शुरू भएपछि स्थानीय निकै खुसी भएको बताए । रारा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई पनि इन्टरनेट प्रयोग गर्न सहज भएको उनले बताए ।
नेपाल टेलिकम मुगुका निमित्त प्रमुख विमलकुमार बुढाका अनुसार करिब सात–आठ वर्षदेखि लथालिङ अवस्थामा रहेको मुर्माटपको फोरजी टावर निर्माण सम्पन्न गरी सेवा शुरू गरिएको हो । थार्प टावरबाट रेडियो लिंकमार्फत मुर्माटप टावरमा जडान गरेर फोरजी सेवा सञ्चालन गरिएको उनले जानकारी दिए ।
उनका अनुसार हाल सीमित क्षमतामा मात्रै सेवा सञ्चालन गरिएको छ । पावर ब्याकअप भरपर्दो नहुँदा सेवाको दिगोपनमा चुनौती रहेको छ । सात–आठ वर्षअघि खरिद गरिएका पुराना ब्याट्रीले पावर धान्न नसक्ने भएकाले नयाँ ब्याट्री जडानका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको उनले बताए ।
नेपाल टेलिकमका अनुसार उक्त फोरजी सेवाबाट मुर्मा गाउँ, रारा क्षेत्र आसपासका बस्ती, होटल, निकुञ्ज कार्यालय, निकुञ्जमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी तथा भ्रमणमा आएका स्वदेशी–विदेशी पर्यटक लाभान्वित हुनेछन् । लामो समयदेखि ठेकेदारको लापरवाहीका कारण टावर निर्माण कार्य अलपत्र परेको थियो ।
स्थानीयवासीको दबाब र सामाजिक युवा अभियन्ता अनिल बानियाको पहलपछि नेपाल टेलिकमले निर्माण कार्यलाई तीव्रता दिएर सेवा शुरू गरेको हो । यद्यपि, असार १५ गतेदेखि फोरजी सेवा शुरू भएर मोबाइलमा तीव्र गतिको इन्टरनेट चल्न थाले पनि टावरमा पावर ब्याकअपको समस्या देखिने गरेको छ ।
भौगोलिक विकटताका कारण मुर्माटपमा केन्द्रीय विद्युत् प्रसारण लाइन नपुगेकाले टावर पूर्ण क्षमतामा सञ्चालन गर्न समस्या भइरहेको छ । स्थानीयका अनुसार टावरमा जडान गरिएका ब्याट्रीको क्षमता अत्यन्त कमजोर रहेकाले मौसम खराब हुनेबित्तिकै विद्युत् आपूर्तिमा समस्या आउने र त्यससँगै मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा पनि प्रभावित हुने गरेको छ ।
सत्यपाटी