राष्ट्रिय प्रकृति संरक्षण कोषको इतिहास र गरिमालाई मध्यनजर गर्दै सरकारले विख्यात ३ जना व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ । संस्थाकी अध्यक्षसमेत रहेकी कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कोषको ऐनमा भएको प्रावधान अनुसार अन्तर्राष्ट्रिय व्यक्तित्वहरू मध्येबाट तीन जनालाई मनोनयन गरेकी हुन् ।
संस्थाको अन्तर्राष्ट्रिय साख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षणलाई थप गति दिन बेलायतका हाउस अफ लर्डका लर्ड क्यामोस विलियम स्टोनर, विश्वविख्यात संरक्षणकर्मी एवं वन्यजन्तु विज्ञ डा.एरिक डाइनर्स्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइटलाई सदस्यमा मनोनित गरेकी हुन् । कोषको सञ्चालक समितिमा मनोनित भएका अन्तर्राष्ट्रिय सदस्यहरूको व्यक्तिगत प्रोफाइल वैश्विक स्तरमै निकै वजनदार रहेको छ ।
तीमध्ये लर्ड क्यामोस विलियम स्टोनर र इरिक डाइर्नस्टन नेपालको संरक्षण इतिहाससँग जोडिएका व्यक्तित्व हुन् । बेलायतको ‘यूके नेपाल ट्रस्ट’का अध्यक्ष समेत रहेका आठौं ब्यारोन क्यामोस (विलियम स्टोनर)को परिवार नेपालको राजनीतिक र कूटनीतिक इतिहाससँग पुरानो र ऐतिहासिक सम्बन्ध छ । लर्ड क्यामोसको परिवार नेपालको संरक्षणमा विगतदेखि नै जोडिँदै आएको हो ।
उनले अहिले पनि ब्रिटिश परोपकारी माध्यमबाट नेपालको जैविक विविधता संरक्षणमा ठूलो योगदान पुर्याइरहेका छन् । त्यस्तै, सन् १९७०–०८० को दशकमा चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्घे गैँडा र पाटेबाघको रैथाने आहारविहारबारे प्रारम्भिक र ऐतिहासिक अनुसन्धानमा गर्ने वैज्ञानिकहरूमध्येमा डा.एरिक डाइनरस्टाइन पनि पर्दछन् ।
उनी विश्व वन्यजन्तु कोषमा २५ वर्ष मुख्य वैज्ञानिकका रूपमा नेतृत्व गर्दै ‘तराई आर्क ल्यान्डस्केप’ को अवधारणा कोरेका थिए । अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीकी डिन रहेकी प्रा.डा विन्डी राइटले विगत एक दशकदेखि नेपालमा सालक संरक्षण,मध्यवर्ती क्षेत्र व्यवस्थापन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा अस्ट्रेलियन विद्यार्थीहरूलाई समेटेर निरन्तर स्थलगत प्राज्ञिक सहकार्य गर्दै आएकी छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पर्यावरण मन्त्री चौधरीलाई नै कोषको अध्यक्षको जिम्मेवारी दिएपछि मन्त्री चौधरीले कोषको ऐतिहासिक गरिमालाई उकास्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । कोषको संस्थागत विरासतलाई विश्वमञ्चमा बलियो ‘ग्लोबल प्रोफाइल’को रूपमा स्थापित गर्ने योजना छ ।
विश्वविख्यात वैज्ञानिक, प्राज्ञिक, व्यवसायिक, युवा र कूटनीतिक व्यक्तित्वहरूलाई कोषको सदस्यमा मनोनित गरेर नेपालको संरक्षण अभ्यासलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग जोड्न नयाँ गति प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
स्थानीय समुदायको जीविकोपार्जन सुधार, वैज्ञानिक वन्यजन्तु व्यवस्थापन र जलवायु परिवर्तनका चुनौतीहरूसँग लड्न यो उच्च–स्तरीय समितिले दूरगामी नीतिगत जग बसाल्ने विश्वास संरक्षणविद्हरूले लिएका छन् । विगत चार दशकभन्दा लामो गौरवशाली इतिहास बोकेको कोषले नेपालमा समुदायमा आधारित संरक्षण र जैविक विविधताको क्षेत्रमा विश्वमै उदाहरणीय काम गरेको छ ।
संस्थामा मनोनित गरिएका व्यक्तित्वहरूले कोषको नीतिगत र नैतिक उन्नयनमा ठूलो रणनीतिक फड्को मार्ने अपेक्षा गरिएको छ । गणतन्त्र आउनुअघि कोषको अध्यक्षमा अधिराजकुमार अध्यक्ष हुन्थे । अधिराजकुमारले विख्यात व्यक्तित्वहरूलाई सदस्यमा मनोनित गर्थे । पछिल्ला वर्षहरूमा दलका नेताहरूले कोषमा विज्ञभन्दा पनि कार्यकर्ताहरूलाई सदस्यमा भर्ती गर्दा विकृत्ति मौलाएको थियो ।
कोषको सदस्य हुने र कोषको नाममा अन्य दातृ निकायहरूसँग सम्पर्क बढाएर आफ्नो व्यक्तिगत परियोजनाहरू ल्याउन तत्लीन देखिन्थे । मन्त्री चौधरीले कोषको सदस्यमा मनोनित हुने व्यक्तिहरू आफैँमा स्थापित एवं पहिचान भएका व्यक्तिहरूलाई ल्याइने प्रतिबद्धता व्यक्त गरेकी छन् । मन्त्री चौधरीले चाँडै नै कोषको कर्मचारी प्रशासन सम्बन्धीको विनियमावली संशोधन गर्ने प्रतिबद्धता जनाएकी छन् ।
मनोनित सदस्यहरू :

डा.एरिक डाइनर्स्टाइन

लर्ड क्यामोस विलियम स्टोनर

विन्डी राइट
सत्यपाटी