२०८३ असार १६ , मंगलबार 30, June 2026, Tuesday
मनसुन

आज र भोलि भारीदेखि धेरै भारी वर्षा

विभागले भनेको छ, ‘दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्छ ।’
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार १६ गते मंगलबार

आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले दुई दिनअगाडि नै विशेष बुलेटिन जारी गर्दै भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन सचेत गराएको थियो ।

आज र भोलि मनसुनी गतिविधि बढ्ने र मधेस, कोसी, वाग्मती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ । यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।

देशका पहाडी र तराई भूभागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । बंगालको खाडीमा विकसित हुने न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने क्रममा रहेकाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो ।

भारीदेखि धेरै भारी वर्षाको कारण भूक्षय, बाढी, पहिरोको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने विभागले बताएको छ ।

‘दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्छ,’ विभागले भनेको छ, ‘त्यसैले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन अनुरोध छ ।’

जलवायुविज्ञ धर्मराज उप्रेती मनसुनी वायु लुम्बिनी र सुदूरपश्चिम केन्द्रित हुँदै गएको बताउँछन् । ‘बिजुली चम्केको घनत्व लुम्बिनी, पश्चिम चुरे र तराईमा बढी देखिन्छ,’ जलवायुविज्ञ उप्रेती फेसबुकमा लेख्छन् ।

कञ्चनपुरको हनुमाननगरमा पछिल्लो ६ घन्टा १०९ मिमि वर्षा भएको उनले बताएका छन् । लुम्बिनी पश्चिमदेखि सुदूरपश्चिम भागमा आज रातिको बिहानीपखको समयमा बढी वर्षाको पूर्वानुमान रहेको उनको भनाइ छ । मध्य मधेसमा आगामी दुई दिन ठूलो वर्षाको सम्भावना नरहेको उनले प्रस्ट पारेका छन् ।

प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार